भदौ ३० । इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले शानदार सुरुवात गरेको छ।
खेलाडी सरुवा बजारमा ठुला रकम खर्चिएको लण्डन क्लबले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो।
मंगलबार बिहान ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१ को जित निकाल्यो।
चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए।
खेलमा अग्रता चेल्सीले २३ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो। ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पाएको थियो। जसमा कप्तानी भूमिकामा रहेका जोर्गिन्हो चुकेनन्।
५४ औं मिनेटमा ट्रोसार्डको गोलमार्फत ब्राइटन खेलमा फर्कने संकेत गरेको थियो। ब्राइटनका युवा खेलाडी लाम्पार्टीले उपलब्ध गराएको पासमा उनले डिबक्स बाहिरबाट गोल गरेका थिए। लाम्पार्टीले ब्राइटनबाट खेलमा राम्रो प्रभाव जमाएका थिए। उनले चेल्सीको डिफेन्स लाइनलाई दबाबमा राखेका थिए।
ब्राइटनले बराबरी गोल फर्काएको दुई मिनेटमै चेल्सीले खेलमा पुन अग्रता बनायो। जेम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। जोर्गिन्होले उपलब्ध गराएको पासलाई जेम्सले पोस्टको दिसा दिएका थिए।
उनै जेम्सको पासमा चेल्सीका डिफेन्डर जुमाले कमजोर डिफेन्सको फाइदा उठाउँदै चेल्सीका लागि तेस्रो गोल गरेका थिए।
मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए।
पहिलो हाफमा अग्रता लिएपनि चेल्सीको प्रर्दशन सुस्त थियो। दोस्रो हाफमा मात्र चेल्सीले लय समाएको देखिन्थ्यो। प्रिमियर लिगको डेब्यु खेलमा वार्नरले प्रभाव जमाएपनि गोल गर्न भने सकेनन्।
जितसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ। एजेन्सी


























