काठमाडौं, भदौ २९ । संस्थापनइतर पक्षले विरोधका बीच कांग्रेस सभापति शेरबहादुर देउवाले थप विभागमा प्रमुख तोक्न लागेका छन्।
देउवाले थप नौ विभागका प्रमुख तोक्न लागेको उनीनिकट एक केन्द्रीय सदस्यले जानकारी गराएका छन्। विभागमा मनोनयन गर्नकै लागि देउवाले आफूनिकटका नेताहरुसँग आन्तरिक संवाद गरिसकेका छन्। देउवानिकट एक केन्द्रीय सदस्यले भने,‘नौ विभागमा प्रमुख तोक्ने तयारी गर्नुभएको छ। कुन(कुन विभाग र प्रमुखचाहिँ निश्चित भएको छैन।’
विधानतः २८ विभाग हुने प्रावधानलाई केन्द्रीय समितिबाट बहुमतबाट पारित गराएर ४७ पुर्याइएको छ। विभाग बढाउने तथा मनोनयनको निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ। असन्तुष्ट समूहले विरोध गर्दागर्दै पनि देउवाले २० विभागमा प्रमुख तोकेका थिए। प्रमुख तोकिएका विभागमा देउवाले चरण(चरण गरि सदस्य विस्तार गरेका छन्।
विधानतः एक विभागमा बढीमा ५१ जनासम्म सदस्य हुने व्यवस्था छ। सांसद रहेकालाई विभागको जिम्मेवारी नदिने मापदण्ड तय गरिएको छ।
महाधिवेशनको कार्यतालिका कार्यान्वयनको समयमा विभाग विस्तार गर्न नहुने संस्थापन पक्षको तर्क छ। आफूनिकटका नेतारकार्यकर्ता व्यवस्थापन गरि १४ औं महाधिवेशन प्रभावित पार्न लागेको उक्त समूहको आरोप छ।


























