सरोज अधिकारी स्वास्थ्यकर्मी हुन्। कोभिड १९ संक्रमितको सेवा गर्दागर्दै उनी आफैँ संक्रमित भए। उनलाई विश्वमा कोरोनाको त्रास फैलिरहेको बेला के होला कसो होला भन्न लागिरहेको थियो। स्वयम् नै अग्रपंक्तिमा काम गर्दा तुलानात्मक रुपमा डर त हुन्थ्यो नै। तर, माक्स, स्यानिटाइजरदेखि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाँउदा अपनाउँदै पनि संक्रमणले छोयो। केही लक्षण देखिँदा अनुमान लगाइसकेका उनी अन्ततः कोभिड–१९ बाट टाढा रहन सकेनन्।
‘शुरुशुरुमा स्वासप्रस्वास सम्बन्धी समस्या देखियो, रुघा खोकी लाग्यो, खानाको स्वाद नपाउने, नाकले गन्ध पाउन छाड्ने जस्ता समस्या देखिन थाल्यो,’ उनले आफ्नो अनुभव सुनाउँदै गए, ‘लक्षण देखिएर संक्रमित भएँ।’ सामान्यतया कोरोनाा भाइरस संक्रमण भएको खण्डमा शुरुवातमा रुघाखोकी लाग्ने, ज्यान दुख्ने, ज्वरो आउने, खाना खान मन नलाग्ने आदि हुन्छ। बिस्तारैै स्वासप्रस्वासमा गाह्रो हुने, खोक्दा छातीबाट आवाज आउने, घाँटी दुख्ने र अझै कठिनाई बढ्दै जाने हुन सक्छ। १८ दिनको आइसोलेसन बसाइपछि उनी अहिले संक्रमणमुक्त भएर घरमै स्वास्थ्यलाभ गरिरहेका छन्।
‘अब केही दिनमा काममा फर्किन्छु,’ उनले भने। देशको मध्यभागमा रहेको चितवनको भरतपुर अस्पताल लगभग चौध पन्ध्र जिल्लाभन्दा बढी ठाँउबाट बिरामी आउने अस्पताल हो। अस्पताल आएका सबै बिरामी र उनका आफन्तले सत्य कुरा बताउँदैनन्, जसले गर्दा बिरामी र उनका आफन्तबाटै पनि स्वास्थ्यकर्मीमा संक्रमण फैलिन सक्ने जोखिम बढ्दै गएको उनको भनाइ छ। ‘कतिपय व्यक्तिले के पनि गर्छन भने ज्वरो आयो भने नहेर्ने हो कि भनेर भन्दैनन्,’ उनले सुनाए, ‘खुलेर नबताउने र कतिपय निजि अस्पतालको लापरवाहीले गर्दा पनि भरतपुर अस्पतालका कर्मचारी मारमा परेका हुन् की भन्ने लाग्छ।’
सबै फ्लुहरुको लक्षण उस्तै हुने कारणले पनि परीक्षण नगरेसम्म केही भन्न नसकिने हुँदा कतिखेर कोबाट कस्लाई सरेको छ भन्ने सामान्य अड्कल गर्न पनि नसकिने उनको धारणा छ। ‘यो क्षेत्रमा काम गर्न थालेपछि कोभिड शंकास्पद व्यक्ति भनेर स्वास्थ्यकर्मीले जाँच्न छोडेर पनि भएन,’ उनले भने, ‘तर, बिरामीको उपचार गर्ने क्रममा स्वस्थ व्यक्तिसमेत कोरोनाको संक्रमणसँग जुध्न बाध्य भएको छ।’ यो बीचमा उनले आफूलाई निकै कमजोर भएको महसुस पनि गरेछन्। ‘अलि कमजोर भएको हो कि भन्ने चाहिँ मलाई पनि लागेको हो,’ उनले भने, ‘तर, सबैभन्दा ठूलो कुरा नै आत्मबल भएकोले शारिरीक व्यायाम, तागतिलो खानेकुरा खाने र सकारात्मक सोच राख्ने हो भने कोरोनालाई सजिलै जित्न सकिन्छ।’


























