काठमाडौं, भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टीमका २२ जना खेलाडी र १ टेक्निकल एनालिसिष्टले सन् २०१९ को तलब पाएका छन्। अघिल्लो हप्ता आईसीसीले क्यानको खातामा पैसा पठाएपछि क्यानले बुधबार खेलाडीको खातामा पैसा जम्मा गरेको हो।
यसपटकको तलब पहिलेकोभन्दा १० हजार रुपैयाँ बढेर आएको क्रिकेटर सन्दीप जोराले जानकारी दिए ।
आईसीसीले खेलाडीको प्रदर्शन हेरेर २०१९ मा २२ जनासँग सम्झौता गरेको थियो। जसमा ८/८ जना ए र बी श्रेणीमा छन्। ६ जना सी श्रेणीमा छन्। ए श्रेणीका खेलाडीले ४५ हजार, बीले ३५ हजार र सी श्रेणीमा रहेकाले २५ हजारका दरले तलब पाएका हुन्।
राष्ट्रिय टोलीका अनुभवी खेलाडी वसन्त रेग्मी यो पटक बी श्रेणीमा छन्। यस्तै यसअघि सी श्रेणीमा रहेका विनोद भण्डारी ए श्रेणीमा बढुवा भएका छन् भने यसअघि बी श्रेणीमा रहेका करण केसी ए मा बढुवा भएका छन्।
एनालिसिष्ट रमन सिवाकोटीले सी श्रेणी बराबरको तलब पाएका हुन्।


























