काठमाडौं, भदौ २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जनपक्षीय कार्य गर्दा पार्टीभित्रैबाट प्रहार हुँदै आएको बताएकी छन्।
खेतीयोग्य जग्गामा कित्ताकाट खुला गरेपछि पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि अर्यालले यस्तो प्रतिक्रिया दिएकी हुन्। पार्टीभित्र आफ्नो कार्यको विरोध भएपछि उनले भनिन्, ‘पार्टीभित्रैबाट प्रहारको निशाना बनाउनुको एउटा अन्तर्य मेरो बद्नाम गराएर कमजोर पार्नु हो।’
पार्टीभित्रको गुटले गर्दा पनि विरोध भएको उनले बताइन्। ‘कतिपयलाई आफ्नो गुटमा नलागेको स्वाद फेर्नु छ। कतिपयलाई कामबाट नेता स्थापित बनेको मन परेको छैन,’ उनले भनिन्, ‘पार्टी बाहिरकालाई सरकारको बदनाम गर्नु, असफल सिद्ध गर्नु र जनतामा निराशा पैदा गर्नु दिनचर्या र नियोजित कार्य छँदैछ।’
पारिवारिक अंशबण्डा गर्न पनि असहज हुँदा जनताले सास्ती पाएकाले खुलाउनु परेको उनले स्पष्टीकरण दिइन्। सर्वसाधारणको पिरमर्का र व्यावहारिक कठिनाइ फुकाउँदा केही भूमाफिया र भ्रष्ट कर्मचारीले नियोजित बदनाम गर्ने कार्यमा लागेको उनले बताइन्।
तत्कालीन सरकारले कृषियोग्य जग्गााको कित्ताकाट रोक्नु दुराशययुक्त र त्रुटीपूर्ण भएको उनले दाबी गरिन्। उनले भनिन्, ‘भूमाफियाको डिजाईनमा ११ वटा दलाल कम्पनीलाई खुला गरिदिएर सर्वसाधारणले दुःख पाउने गरी कित्ताकाट रोकिएको थियो।’
भू–उपयोगसम्बन्धी कानुन बनाई कित्ताकाट खुला गरिएको उनले जानकारी गराइन्। २०७४ साउन २६ गतेदेखि तत्कालीन भूमि व्ययस्थामन्त्री गोपाल दहितले कित्ताकाटमा रोक लगाएका थिए। कित्ताकाट खुला भएपछि भू–उपयोगसम्बन्धी डाटावेसका आधारमा स्थानीय सरकारहरुले जग्गाको वर्गीकरण गर्ने उनले बताइन्। खेतीयोग्यबाहेक अन्य जग्गाको खण्डीकरण गर्ने व्यवस्था रहेको उनले सुनाइन्।
भूमि मन्त्रालयअन्तर्गत रहेका कार्यालय विगतमा ‘गन्हाएको क्षेत्र’ चिनिँदै आएकोमा आफूले सुधार गरेको दाबी गरिन्।


























