काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले १४औं महाधिवेशनपछि कांग्रेस एक जुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
पार्टीमा भएका गुट उपगुटलाई अन्त्य गर्दै अघि बढे कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने ठोकुवा गरे।
१०७औं वीपी जयन्तीका अवसरमा पार्टीले आयोजना गरेको जुम बैठकलाई सम्बोधन गर्दै कोइरालाले महाधिवेशनअघि एक हुन नसके पछि त्यसपछि भने एकता परिहार्य भएको उल्लेख गरेका हुन्।
कोइरालले भने, ‘अब कांग्रेस एक जुट हुनुपर्छ। १४ महाधिवेशन अघि नसके पनि पछि कांग्रेसमा गुट रहनु हुँदैन। कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन।’ वीपीका छोरासमेत रहेका कोइरालाले उनले जीवनभर संघर्ष गरेको स्मरण गरे।
‘उहाँले जीवनभर संघर्ष गर्नुभयो। भारत र नेपालमा दुवै देशमा जेल पर्नुभयो, कोइरालाले अगाडि भने, ‘जम्मा १७ महिना सरकार चलाउँदा उहाँले धेरै परिवर्तन गर्नुभयो। जसलाई आज पनि हामी स्मरण गरिरहेका छौं।’
‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ विषय कार्यक्रममा महामन्त्री कोइरालले कांग्रेसले समाजवादी नीति अनुसरण गरे पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषय निशुल्क हुन नसकेकोमा दुःख व्यक्त गरे।
‘वीपीका योजना आज पनि उत्तिकै सान्र्दभिक छन्। वीपीले समावेशी भन्नुभएन, तर उहाँले सबै जातजाति धर्म समुदाय, महिलालाई सहभागी गराएर लैजानुभयो, उनले भने।


























