चितवन, भदौ २४ । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै आएको बाढीले बगाएको हो।
गत साउन ११ गते आएको बाढीले झण्डै दुई दशकअघि बनाइएको हरिपुर खोलाको मोटरेवल पुल बगाएपछि गाउँपालिकाले आठ दिन लगाएर डाइभर्सन निर्माण गरी अस्थायीरूपमा सडक सञ्चालन गरेको थियो। बाढीले डाइभर्सन बगाएपछि स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ।
इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे। सो सडक अवरुद्ध भएपछि त्यस भेगका करिब तीन हजारभन्दा बढी नागरिकलाई आउजाउ गर्न असुविधा भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्। उनका अनुसार उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला गाडी चल्ने गर्छन्। रासस


























