भदौ २३ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तालावाजले फाइनल प्रवेशका लागि आज (मंगलबार) राति ट्रिन्बागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ।
लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट राइडर्ससँग खेल्ने लागेको हो।
ब्रायन लारा क्रिकेट स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल मंगलबार नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।
पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ। दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन्। दोस्रो सेमिफाइनल बुधबार हुनेछ।
लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो। यता नाइट राइडर्स भने प्रतियोगितामा अपराजित रहेको छ। निकै लयमा रहेको उसको १० खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।
नेपालका ग्लोबल आइकन सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङस बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन्।
निकै राम्रो इकोनमिमा बलिङ गर्दै आएका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाचौं स्थानमा छन्।
सन्दीप जमैकाका लागि सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा रहेका छन्। एजेन्सी


























