काठमाडौं, भदौ २१ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका खेलाडीलाई तलब पठाउन सुरु गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो।
क्यानका कोषाध्यक्ष रोशन सिंहले आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको खेलपाटीलाई बताए।
‘खेलाडीको तलब पठाउने काम आजबाट सुरु भएको छ। खेलाडीको खातामा पठाउने भएकाले कप्तानलाई सबै खेलाडीको केवाईसी भर्न सुझाब दिनु भनेको छौं,’ क्यानका कोषाध्यक्ष सिंहले भने, ‘आज अफिसियल काम सकेर भोलीसम्म खेलाडीको खातामा चेक जम्मा हुन्छ।’
क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने भन्दै खेलाडीलाई आवश्यक अनुसार बैंकको केवाईसी फाराम भर्न समेत आग्रह गरेको छ।
कुनै खातामा ६ महिना भन्दा बढी काम नभएको खण्डमा केवाईसी फारम भर्नुपर्छ। त्यसै अनुरूप क्यानले कप्तान ज्ञानेन्द्र मल्ललाई सबै खेलाडीलाई केवाईसी भर्नका लागि जानकारी गराउन निर्देशन दिएको हो।
क्यानले आईतबार खेलाडीको सूचीमा मिलाएर, सबै कागजात मिलाउने लक्ष्य लिएको छ।
‘आज अफिसमा प्रक्रिया मिलाउन लाग्छ कम्तीमा दुई बज्छ। त्यसैले भोली सम्म खेलाडीले तलब पाउने छन्,’ कोषाध्यक्ष सिंहले थपे।
यस्तै खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाउने समेत सिंहले जानकारी गराए। क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार बढी पठाउन आईसीसी सहमत भएको थियो।
राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणी अनुसार तलब पाउने गरेका छन्। जसमा ‘ए’ श्रेणीको खेलाडीले ३५ हजार, ‘बी’ श्रेणीको खेलाडीले २५ हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक १५ हजार पाउँदै आएका थिए। अब खेलाडीले यो रकम भन्दा १० हजार बढी पाउने छन्।
खेलाडीले अब एकमुष्ट एक वर्षको तलब पाउँदा ‘ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाउनेछन्।
क्यानले २२ खेलाडीसहित टेक्निकल एनालिस्ट रमन शिवाकोटीलाई समेत तलब दिने जनाएको छ।
खेलाडीको श्रेणी:
‘ए’ श्रेणीस् पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी
‘बी’ श्रेणीस् आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी
‘सी’ श्रेणीस् रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल


























