काठमाडौं, भदौ २१ । जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ।
जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्ने ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय जारकोट र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरुलाई अफिमसहित पक्राउ गरेको हो।
त्यस्तै रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ जलिगार्डबाट १६ किलो अफिमसहित तीनजनालाई पक्राउ गरेको छ।
नलगार्ड नगरपालिका–९ बस्ने ३७ वर्षीय प्रेमबहादुर सिंहसहित तीन जना पक्राउ परेका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। दुवै ठाउँबाट पक्राउ परेकाहरुका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























