भदौ २० । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) नवौं खेल खेल्दैछ।
ट्रिनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले नवौं खेलमा बार्बाडोस ट्राइडेण्ट्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो।
जमैका र बार्बाडोसबीचको खेल नेपाली समय अनुसार राति १२ बजे सुरु हुनेछ।
ब्रायन लारा स्टेडियममा बार्बाडोसविरुद्ध मैदान उत्रदै गर्दा जमैका चौंथो जितको खोजीमा हुनेछ। बार्बाडोस भने तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो। जमैकासामु अघिल्लो खेलमा भोगेको पराजयको बदला लिने अवसर प्राप्त हुनेछ।
जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ। बार्बाडोस ९ खेलमा ४ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ।
जमैकालाई जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने मौका छ। बार्बाडोसको लागि यो खेल प्रतिष्ठाको लडाँई मात्र हो।
सन्दीपले यस सिजन निकै उत्कृष्ट बलिङ प्रर्दशन गर्दै आएका छन्। सन्दीप ७ इनिङमा १० विकेट लिन सफल भएका छन्।
सन्दीप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको छैठौं स्थानमा छन्। यस्तै उनी आफ्नो टिमबाट सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन्। एजेन्सी


























