भदौ १८ । यूईएफए नेसन्स लिग फुटबल आज (बिहीबार) बाट सुरु हुँदैछ।
युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको नेसन्स लिगको दोस्रो संस्करण बिहीबार सुरु हुन लागेको हो।
नेसन्स लिग अन्तर्गत बिहीबार विभिन्न समूहको १० खेलहरु हुनेछ। जसमा जर्मनी, स्पेन लगायतका खेलहरु रहेको छ।
लिग ‘ए’ समूह चारमा रहेको जर्मनीले स्पेनसँग घरेलु भूमिमा खेल्नेछ। मर्सिडिज बेन्च एरिनामा हुने जर्मनी र स्पेनबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ।
यस्तै लात्भिया र एन्डोराबीच हुने पहिलो खेल नेपाली समयअनुसार पौने १० बजे सुरु हुनेछ।
त्यस्तै फिनल्याण्ड र वेल्स, रसिया र सर्विया, फारोय आइसल्याण्ड र माल्टा, बुल्गेरिया र आयरल्याण्ड , स्लोभानिया र ग्रिस, टर्की र हंगेरी, मोल्दोभा र कोसोभो तथा युक्रेन र स्वीट्जरल्याण्डबीच खेल हुनेछ। सबै खेल नेपाली समय अनुसार राति साढे १२ बजे हुनेछ।
नेसन्स लिग युरोपका ५५ देशले प्रतिस्पर्धा गर्ने छन्। सहभागी राष्ट्रलाई वरीयताको आधारमा चार समूहमा विभाजन गरिएको छ।
हरेक टिमले समूहमा ६ खेलहरु होम एण्ड अवेका आधारमा खेल्नेछन्। तर, लिग ‘डी’ को तीन देश रहेको समूहले भने चार खेल मात्र खेल्नेछन्।
गत वर्ष क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले उपाधि जितेको थियो। एजेन्सी


























