चितवन भदाै १८ । जिल्लाकाे राप्ती नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया महिलाकाे काेराेनाका कारण मृत्यु भएकाे छ। दुवै मिर्गाैलाले काम नलाग्ने भएपछि विगत तीनमहिनादेखि डायलासिस गर्दै आएकी ती महिलाकाे बिहीबार साँझ ५ः१० बजे भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकाे हाे। खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदाै १४ गते अस्पताल भर्ना भई सघन उपचार कक्ष (आइसीयू)मा उपचाररत उनलाई भदाै १७ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो।
यसअघि बिहीबार नै चितवन मेडिकल कलेजमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको थियाे। अल्कोहोलिक हेपटाइटिस र एक्युज किड्नीको समस्या भई भदौ ९ गते भर्ना गरिएका गैंडाकोट–२ का ३७ वर्षीय पुरुषकाे उपचारकै क्रममा दिउँसाे २ः२० बजे मृत्यु भएकाे हाे। चितवन मेडिकल कलेज अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ती पुरुषलाई भदाै १० गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे।


























