चितवन भदौ १८ । कोरोना कहरसँगै बनेको असहज परिस्थितिले धेरै नेपालीको रोजगार गुमाएको छ। आर्थिक संकटमा पारेको छ। संक्रमणको जोखिम कम गर्न भन्दै सम्बन्धित स्थानीय सरकारहरूले अवस्था हेरेर गरेको निषेधाज्ञाले हुँदाखानेहरूलाई सडकमा पुर्याइइदिएको छ। यातायात, बजार, व्यवसाय पूरै ठप्प भएपछि हुनेखानेहरूका लागि खासै समस्या नभए पनि हुँदाखानेहरूलाई भने एक छाक टार्न पनि मुस्किल हुन थालेको छ। उनीहरूलाई रोगभन्दा भोक ठूलो हुन थालेको छ। जसले गर्दा पेट पाल्नकै लागि सडकमा निस्कन बाध्य छन्।
भरतपुर महानगरपालिकालाई स्थानीय सरकारले सहयोगापेक्षी सडकमानव महानगर घोषणा गरिसकेको छ। तर, पछिल्लो परिस्थितिले फेरि सडकमा उत्तिकै मात्रामा मानिसहरू निस्कन थालेका छन्। यसले भरतपुर महानगरपालिकालाई गिज्याइरहेको छ। भइरहेको आय स्रोत नै गुमेपछि न्यूनस्तरका नागरिक भोक मार्न बेवारिसे अवस्थामा सडकमा आउन बाध्य भएका छन्। अवस्था दिनानुदिन असहज बन्दै गएपछि ‘बेवारिसे व्यवस्थापन केन्द्र’ चितवन शाखाले त्यस्ता व्यक्तिहरूको पेटमा भोक मार्ने प्रयास गरिरहेको छ। संस्थाले विगत केही दिनयता नारायणगढका विभिन्न स्थानमा निःशुल्क खाना खुवाउँदै आएको छ।

शाखाका उपाध्यक्ष प्रकाश थापाका अनुसार सहयोगापेक्षी सडकमानवमुक्त घोषणा भइसकेको भरतपुर महानगरको नारायणगढ बजार क्षेत्रमा मात्रै अहिले औषतमा दैनिक ३५० जना मानिस भोक मार्नको लागि सडकमा पर्खिरहेका देखिन्छन्। उनी भन्छन्, ‘कसैको रहर होइन, बाध्यता र परिस्थितिले मानिसलाई सडकमा पुर्याउँछ।’ यो संस्थाले शुरूवातका केही दिन पुलचोकमा खाना खुवायो। पछिल्लो समय उद्योग वाणिज्य संघको भवन पछाडि अर्थात् नारायणी नदी किनारमा खाना खुवाउँदै आएको छ। सडकमा भोक मार्न पर्खिरहेकाहरूलाई खाना खुवाउनकै लागि बिहान ६ बजेदेखि संस्थाका प्रतिनिधिहरू दिनभरजसो सडकमै व्यस्त हुन्छन्।
यो संस्थामा क्रियाशिल युवाहरू कहीँ न कहीँ सामाजिक कार्यमा जुटिरहेकै व्यक्तिहरू हुन्। तर, अहिले संस्थागत रूपमा बेवारिसे व्यवस्थापनमा लागेका छन्। चितवनमा केही महिनाअघि स्थापना भएको यो संस्थालाईm ११ जनाले हाँकिरहेका छन्। भोकले कोही नमरून् भन्ने उद्देश्यले चितवनमा पनि शाखा स्थापना गरिएको अध्यक्ष सीता कुँवर बताउँछिन्। यो संस्था स्थापना भएपछि तीनजनालाई उद्धार गरेर व्यवस्थापन गगरिसकेको उनले बताइन्। बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार र व्यवस्थापनको लागि सम्बन्धित वडा वा स्थानीय तह र प्रहरीसँग समन्वय गरेर काम गर्दै आएको उनको भनाइ छ।

हाल काठमाण्डौं बस्दै आएका राजकुमार श्रेष्ठले साढे ३ कठ्ठा जग्गा र ४ कोठे घर दिएपछि संस्थालाई थप सजिलो भएको छ। पुरानो घरलाई रङ्गरोगन गरेर मर्मत गरिएको छ। सहयोगी मन भएका व्यक्तिहरूले जन्मदिन, वैवाहिक वर्ष, पुण्य तिथि आदिमा खाद्यन्नसँगै रकम सहयोग गर्दै आएका छन्। सोही आधारमा बेवारिसे व्यवस्थापन गर्दै आएको उनले बताइन्। तर स्थानीय तहले भने अहिलेसम्म केही सहयोग नगरेको उनको गुनासो छ। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाहलगायतले आश्वासन दिए पनि हालसम्म सहयोग नभएको उनको भनाइ छ।


























