बागलुङ, भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ।
सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए। बिहान ८ बजेसम्म ६ जनाको शव फेला परेको प्रजिअ न्यौपानेले बताए।
उनका अनुसार ढोरपाटनका ६, ७, ८ र ९ वडा प्रभावित भएका छन्। त्यसमध्ये पनि ८ र ९ वडामा बढी क्षति भएको छ।
अरिवरल वर्षासँगै आएको भिषण बाढीपछि बेपत्ता भएकाहरूको अहिले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।
‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो भन्ने अझै यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्धारको काम भइरहेको छ।’


























