काठमाडौं, भदौ १७ । सेयर बजारमा उत्साह थपिनेक्रम जारी छ। बजारले केही समय यता सुस्त तर क्रमशः आफ्नो माथिल्लो गति तय गरिरहेको देखिन्छ। तर पछिल्ला दिनहरुमा भने खरिदबिक्री रकममा बेस्सरी तेजी देखिएको छ। कारोबार रकम र सूचक दुवै सकारात्मक बन्दा आम लगानीकर्ता उत्साहित हुनु स्वभाविक हो। बजारमा नयाँ माहोल सिर्जना हुँदा धेरैजसो समूहहरु सकारात्मक बन्ने प्रवृत्ति देखिएको छ। कोरोना संक्रमणका बीचमा पनि बजारमा आशातीत सुधार आउनुले लगानीकर्ताको मनोबल वृद्धि भइरहेको बुझ्न सकिन्छ।
अन्य उद्योगधन्दा पूर्णरुपमा सञ्चालन हुन नसकेकाले पनि साना–ठूला सबैथरी लगानीकर्ताको ध्यान सेयर बजारतर्फ मोडिएको अनुमान छ। सेयर बजार विस्तार हुनुमा वित्तीय प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारण मानिएको छ। अधिक तरलताले सामान्यतयः सेयर बजारलाई माथि लैजान सहयोग पुर्याउँछ। अधिक तरलता हुँदा निक्षेप र कर्जा दुवैको ब्याजदर घटेको छ। निक्षेपमा निकै कम ब्याज पाइने भएपछि निक्षेपकर्ता पनि सेयर बजारतिरै लाग्ने प्रवृत्ति हुन्छ।
यता, कर्जा लिनेहरुमा पनि सस्तोमा पाइने भएपछि उत्साह वृद्धि हुन्छ। क्षमता पनि बढ्छ। यसले समग्रमा सेयर बजार विस्तारमा सहयोग पुर्याउँछ । यतिबेला कोरोना संक्रमण र यसले अर्थतन्त्रमा कतिसम्म घाटा भयो भन्ने प्रश्न बाहेक अन्य हिसाबबाट हेर्दा सेयर बजारका लागि उत्साहप्र्रद देखिन्छ। सेयर बजारको चक्रीय नियमले पनि बजार माथि जान सहयोग पुर्याएको भन्नेहरु पनि प्रशस्त छन्।
तथापि, बजार सधैं एउटै बाटोमात्र हिँड्दैन। तलमाथि बजारको नियम नै हो भन्ने चाहिँ लगानीकर्ताले बिर्सिनु हुँदैन। बुधबार लगानीकर्ताको ध्यान हाइड्रोपावरतर्फ मोडिएको देखिन्छ। बिमा कम्पनीहरुमा भने केही करेक्सन देखिएको छ। बैंक तथा माइक्रोफाइनान्स समूहका सूचकहरु पनि सकारात्मक बनेका छन्।
नेप्से सूचक बुधबार २५.५८ अंकले बढेर १५१०.५७ विन्दुमा आइपुगेको छ। १८६ कम्पनीको ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ९६ लाख ८६ हजार ९ कित्ता सेयर खरिदबिक्री भएको छ। जीवन र निर्जीवन बाहेक बाँकी सबै समूहका सूचक घटेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर समूहको सूचक माथि लागेको छ। वाणिज्य बैंक समूहको सूचकमा पनि सुधार देखिएको छ।
थुप्रै कम्पनीहरुको भाउ १० प्रतिशतले बढेर सर्किट लागेको छ। सर्किट लाग्ने अधिकांश हाइड्रोपावर कम्पनीहरु नै रहेका छन्। यता, सबैभन्दा धेरै प्रभु इन्सुरेन्सको भाउ ४.४१ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पीको ६७ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसैगरी, शिखर इन्सुरेन्स, नेसनल लाइफ इन्सुरेन्स धेरै कारोबार हुनेमा दोस्रो र तेस्रो स्थानमा परेका छन्।


























