काठमाडौं, भादौ १७ । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले फेरि नयाँ रुप लिएको छ। पार्टी विवाद समाधानका लागि कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न तय भएको सचिवालय बैठक सरेर भोलिका लागि बस्ने टुंगो लागेपनि अन्यौल बढेको छ।
नेकपाभित्र अहिले बामदेव गौतमलाई राष्ट्रियसभामा लाने विगतमा सचिवालयमा भएको निर्णय कार्यान्वयन गर्ने नगर्ने विषयले विवाद बढाएको छ। अध्यक्ष ओली बामदेवलाई राष्ट्रियसभामा नलाने पक्षमा देखिएको छ। उनले ऋषि धमलासँग शनिबार प्राइम टाइम्स टेलिभिजनमा बोल्दै बामदेवलाई राष्ट्रियसभामा लाने निर्णय पुरानो भइसकेको बताएका थिए। ओलीले अर्थमन्त्री डा। युवराज खतिवडाको प्रशंशा गर्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका थिए।
ओलीको अभिव्यक्ति लगत्तै नेकपाभित्र तरंग आएको थियो। बामदेवले आफूलाई राष्ट्रियसभामा लाने विगतको निर्णय कार्यान्वयन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । तर, ओलीले डा। खतिवडालाई नै बनाउने अडान लिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि विवाद बढेको छ।
प्रचण्डले पार्टी निर्णय कार्यान्वयनमा जोड दिदा ओलीले खतिवडाको नाम बढाइसकेको भनेका थिए। त्यसपछि प्रचण्डले यसो गरेमा गम्भीर गल्ती हुने चेतावनी दिइसकेका छन्।
सहमतिको खाकाको टुंगो लाग्न तय भएको सचिवालय बैठक अगाडि नयाँ विषय उठ्न थालेपछि सचिवालय बैठक बस्ने नबस्ने अन्यौल बढेको छ। बैठक भोलि नै बस्ने भनिएपनि सर्न सक्ने सम्भावना बढेको बुझिएको छ। पार्टीभित्र उत्पन्न नयाँ परिस्थितिलाई लिएर बैठक अगावै दुई अध्यक्षबीच छलफल हुने भएको छ। छलफलले सचिवालय बैठक बस्ने नबस्ने टुंगो लाग्नेछ।


























