जिल्ला प्रशासन कार्यालय चितवनले काेराेना भाइरस संक्रमणकाे राेकथाम र नियन्त्रणकाे लागि भन्दै साउन अन्तिमदेखि निषेधाज्ञा जारी गर्यो। शुरुमा एकहप्ताकाे लागि भनेर गरिएकाे निषेधाज्ञा फेरि एक हप्ताको लागि भन्दै भदौ १९ मध्यरातसम्मकाे लागि थप गरेकाे छ। यो विषम परिस्थितिमा प्रायः जनप्रतिनिधि काेराेना नियन्त्रणकाे लागि निषेधाज्ञा जारी गरेपछि चुपचाप छन्। तर, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा भने जनसमुदायको सेवामा लागी परेका छन्। चैत्र ११ देखि शुरु भएको लकडाउनबाट नै आफ्नो नगरको दीर्घरोगीको लागि उनले अस्पतालसम्म ल्याउने र लैजाने काममा लागी परेका छन्। यिनै पेरिफेरिमा रहेर लगातार न्युजले उपप्रमुख लामासँग कुराकानी गरेकाे छः
पछिल्लो समय तपाईंको सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ नि?
मैले गरेका केही गतिविधिलाई चितवन र अन्य विभिन्न स्थानका अनलाइन तथा केही सामाजिक ग्रुपले त्यसलाई प्राथमिकताको साथ राखेको थियो। जुन अहिले पनि जारी छ। विभिन्न पत्रपत्रिका तथा युट्युव च्यानलले पनि त्यसलाई राम्रैसँग कभर गरेको छ। यही कारण पनि यस बिषयमा चर्चा भयो कि भन्ने लाग्छ। तर मैले चर्चामा आओस् भनेर कुनै पनि काम गरेको छैन, जुन कुरा म आवश्यक पनि ठान्दिनँ। चर्चामा आउने काम गरेझैँ लागेको पनि छैन। म नगरवासीकाे सेवामा काम गर्न आएकाे जनप्रतिनिधि भएको कारण नगरवासीको समस्यामासँगै हिँडेको मात्र हुँ। कोहीको छोरा, कोहीको दाजुभाइ भएर मैले दीर्घरोगबाट लडिरहेकाहरुको समस्यामा मलम लगाउने प्रयास मात्र गरेको हुँ। यो समयमा केही सामाजिक सञ्जाल र मिडियामा मलाई दिइएकाे मात्रै हो। उसो त मैले आफू नगर उपप्रमुख भएपछि राप्ती नगरपालिकामा ५ वटा घर बनाउने प्रयास गरेको छु। यही कारण पनि अहिले मलाई अलि बढी चर्चामा ल्याएको छ। तर मेरो विनम्र अनुरोध, के छ भने मैले चर्चा कमाउनकै लागि काम गरेकाे हाेइन, यो मरो दायित्व र जिम्मेवारीभित्र रहेको काम हो। हप्तामा २ पटकभन्दा बढी डायलासिस गर्ने तथा किमो चढाउनुपर्ने क्यान्सरका बिरामीलाई अस्पतालसम्म जानकाे लागि सवारीसाधनको अभाव रहेका बेला अस्पतालसम्म जाने वातावरण मिलाउने प्रयास मात्रै गरेकाे हुँ। साथै घरविहीन भएकालाई घर बनाउन प्रयास मात्रै गरेको हुँ। अब मिडियाले गरेको यो कभरेज र स्थानलाई मैले आभार प्रकट गर्न बाहेक अरु कुनै शब्द छैन मसँग। म निरन्तर समाजसेवा र समुदायको अगुवा भएर काम गर्न चाहन्छु।
जनसमुदायको सेवामा लाग्नु त सकारात्मक कुरा हो। तर निर्देशन दिएर व्यवस्थापन गर्नुपर्ने ठाउँमा आफैँ खट्नुपर्छ भन्ने किन लाग्यो?
समाजले शीघ्र विकास चाहेकाे छ। त्यसैले पनि जनप्रतिनिधिले अब निर्देशन दिएर मात्रै बस्न हुँदैन भन्ने मलाई लाग्छ। जनताकाे मत खाएर याे स्थानमा आएका हामी जनप्रतिनिधि अब फिल्डमा उत्रन आवश्यक छ। जबसम्म हामी आदेश र निर्देशन दिने तहमा सीमित हुन्छौँ, हामीले भनेकाे जस्तो समाजको विकास हुँदैन। यही कारण पनि म र मेरो जिम्मेवारी रहेको सबै तह फिल्डमा छौँ। मैले नगर उपप्रमुखको हैसियतले गर्ने र निर्देशन गर्ने काम तथा क्रियाकलापलाई निकै जिम्मेवारीपूर्ण तरिकाले हेरेकाे छु। त्यसबाट बचेको समयमा मैले समस्यामा परेकाहरुलाई साथ दिएको हुँ। अनि दोस्रो कुरा अहिलको यस समयमा म जसरी पनि मेरो नगरवासीको अवस्था र समस्या बुझ्नको लागि विभिन्न स्थानमा जानैपर्ने हुन्छ। मैले मसँगैको कर्मचारीलाई जहाँ पनि जाने र लैजाने गर्न सक्दिनँ। किनकि कोभिडको जोखिम त उत्तिकै छ। तर म आफैँ गाडी चलाउन सक्छु भने किन यसरी जोखिम मोल्ने भनेर मात्र मैले आफैँ फिल्डमा उत्रिएको हुँ। यसलाई मेरो चर्चाको बिषयमा जोडिरहनुपर्छ जस्ताे मलाई लाग्दैन। म नगरवासीको स्वास्थ्य सुरक्षाप्रति सचेत छु। मेरो कार्यकालमा यो काम गर्न सकिन्थ्यो तर किन गरिएन, भन्ने पछुतो मानेर बस्न चाहन्न। मैले नगरवासीलाई सेवा गर्ने अवसर पाएको छु। यो अवसरलाई म पूर्णरुपमा प्रयोग गर्न चाहन्छु।
अहिलेकाे बिषम परिस्थितिमा यहाँले जुन किसिमको काम गरिरहनुभएको छ, यसले जनतालाई प्रत्यक्ष राहत पुगेको छ भन्न खोज्नुभएको हो?
मेरो व्यक्तिगत अनुभवमा मात्र होइन, मैले सेवा दिइरहेको बिरामी र उहाँहरुको आफन्तले पनि हामीलाई निकै सजिलो भयो भन्नुभएको छ। याे कुरा सुनिरहँदा मैले नगरपालिकाले दिएको गाडीको सही सदुपयोग गरेको छु भन्ने लाग्छ। लाखाैँ रुपैयाँको गाडी चडेर जनताको कुरा नसुन्ने भन्नेहरुकाे लागि एउटा उदाहरण हाे याे। म कहीँकतै जाँदा सरकारी गाडी प्रयोग गर्छु, यो मेरो मात्र प्रयोगको लागि होइन, आवश्यक पर्दा नगरवासीले पनि प्रयाेग गर्न पाउनुपर्छ भन्ने मान्यता लिएर हिँडेकाे छु। त्यसैले समयमा अस्पताल नपुगी नहुने खालका दीर्घ राेगका बिरामी र आर्थिक अवस्था ज्यादै कमजाेर रहेका बिरामीलाई सेवा दिनुपर्छ भनेर आफैँ हिँडेकाे हुँ। किनकि चैत्र ११ गतेदेखि भएकाे असहजताले कुनै पनि बिरामी समस्यामा नपरुन् भन्ने मेराे चाहना हाे।
तपाईंकाे काम देख्दा तपाईंलाई पूर्वसांसद स्वर्गीय जेपी भेटवालसँग पनि तुलना गर्न थालेका छन्, यस विषयमा के भन्नुहुन्छ?
स्वर्गीय जेपी भेटवालको बिचार र सिद्धान्तलाई मैले फलो गर्दै त्याे स्थानमा पुग्न मलाई अझै कयौँ वर्ष लाग्छ। तर म उहाँकै चेलो भएका कारण उहाँका केही सिद्धान्त र बिचार मिल्न गएको होला। उहाँको एउटै सिद्धान्त थियो, जनसमुदायलाई कसरी सेवा दिने भन्ने बिषयमा, हो मैले पनि यही सिद्धान्त फलो गरिरहेको छु। केही सामाजिक सञ्जालमा उहाँको नाम जोडेर मलाई सम्बाेधन गरिरहेको देख्छु, पढ्छु। खुसी लाग्छ, तर मलाई उहाँको नाम जोडिरहँदा मैले आफ्नो जिम्मेवारी र कर्तव्यको दायरा बढाउनुपर्छ जस्तो लाग्छ। मैले उहाँ जस्तै भएर देखाउँछु भन्दा पनि उहाँले गरेका र सोचेका सपनालाई पूरा गर्न चाहन्छु। राप्ती नगरपालिकावासी र समग्र पूर्वी चितवनको विकासको लागि काम गर्न चाहन्छु। तर पनि यहाँहरुले दिनुभएको माया र सद्भावलाइ नमन गर्न चाहन्छु।
कोरोना न्यूनीकरण र राेकथामकाे लागि राप्ती नगरपालिकाले के-के गरिरहेकाे छ?
नगरवासीको लागि राप्ती नगरपालिका निकै सचेत र सर्तकताका साथ लागी परेको छ। तर पनि नगरका केही स्थानमा काेभिडको जोखिम बढिरहेको छ। नगरले गर्ने काम भनेको अहिले सर्तकताको लागि नगरवासीलाई सचेत गराउने र सर्तकता अपनाउन अनुरोध गर्ने हो। साथै नगरपालिकाभित्रका काेराेना संक्रमितकाे उपचार र बसाेबासकाे व्यवस्था मिलाउने र नयाँ संक्रमित थपिन नदिनकाे लागि स्थानीयलाई सजग गराइरहेका छाैँ। अहिले हामी यही काममा व्यस्त छौँ। म मेरा नगरवासीलाई विनम्र अनुरोध गर्छु, क्रिपया अनुशासनकाे पालना गर्नुहोला। निषेधाज्ञाको पालाना गरिदिनुहोला।


























