देवचुली (नवलपुर), भदौ १३। तेह्रौं पुस्तकालय दिवसको सन्दर्भ पारेर ‘परिवर्तनका लागि युवा नेपाल’ले रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई पुस्तक उपलब्ध गराएको छ। चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकाहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले पुस्तक उपलब्ध गराइएको परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईंले बताए। संस्थाले किताब संकलनका लागि फेसबुकबाट आह्वान गरेको थियो। पढिसकेर घरमै थन्किएका किताब अथवा नयाँ किताब पनि संकलन गरिने योजनाअनुरुप थालिएको अभियानमा कुल ६७ किताब संकलन भए। साेही किताब उपलब्ध गराइएकाे उनले बताए।

संस्थाका अध्यक्ष चापागाईंसँगै उपाध्यक्षद्वय विश्वास लामिछाने र डण्डापाणि न्यौपानेसहितको टोलीले शनिबार अस्पतालमै पुगेर किताब बुझाएका हुन्। अस्पतालका निर्देशक डा विनोद पौडेलसँगै, डा. पुष्कर पौडेल, डा. नन्दलाल रानामगरका साथै व्यवस्थापक हरिप्रसाद सापकोटाको रोहवरमा चिकित्सालयलाई पुस्तक बुझाइएको हो। यी पुस्तक हाल कोभिड संक्रमित भई चिकित्सालयमा उपचाररत बिरामीहरूले अध्ययन गर्नेछन्। अध्ययन पश्चात् पनि यी किताब यहीँको पुस्तकालयमा रहनेछन्। अस्पतालमा आउने जोकोहीले पनि पढ्न मिल्ने किसिममले अब किताबहरू उपलब्ध गराइने अस्पतालका व्यवस्थापक सापकोटाले बताए।
अस्पतालमा अहिले करिब १ सयको संख्यामा कोभिड संक्रमितहरू छन्। संक्रमितलाई नियमितरूपमा ध्यान, योग प्राणायम गराइनुका साथै नाचगान र खेलकुदमा ध्यान दिएर शरीरलाई तन्दुरुस्त राख्न डाक्टरहरूले सल्लाह दिने गरेका छन्। यसका अलावा यहाँ रहेकाहरूले अब आफ्नो रुचि अनुसारका किताब पढेर मनोरञ्जन लिन सक्नेछन्। करिव दुईसाता यहाँ बस्दा मनलाई शान्त, एकाग्र र ताजा राख्न किताब सहयोगी हुने आइसोलेसनमा रहेका पत्रकार हिमालदेव पंगेनीले बताए। आइसोलेसनमा बसेकाहरूले आफूलाई लक्षित गरी किताब उपलब्ध गराएकोमा खुसी लागेको बताए।

किताब संकलनको यो अभियानमा नवलपुर तथा चितवनका व्यक्तिहरूले सहयोग गरेका थिए। संजय भट्टराई, अविनाश पन्थी, राजु चापागाई, टीकाराम राना, शिव पराजुली, आदर्श सुशील, कृष्ण तिवारी, विश्वास लामिछाने, सम्पूर्ण किताब नारायणगढ, पुरन रिजाल, नवीन भुसाल, अजय पंगेनी, ज्योती दवाडी, रोशन पौडेल, राम स्टेशनरी एण्ड अर्डर सप्लार्यस दलदले, खेमबहादुर सारू, खिमानन्द भुसाल, एलएन दवाडी र गैंडाकोट निवासी करूणासागर सुवेदीबाट यी किताब संकलन गरिएको हाे।


























