रजहर भदौ १२ । नवलपुर (पूर्वी नवलपरासी)को देवचुली नगरपालिका वडा नं. १६ रजहर स्थित प्राकृतिक चिकित्सालय नेपालकै उत्कृष्ट ‘कोरोना विशेष अस्थायी अस्पताल’ (आइसाेलेसन) बनेको छ। चिकित्सालयका निर्देशक डा विनोद पौडेलका अनुसार करिब साढे दुई महिनाको अवधिमा ३ देखि ७८ वर्ष उमेरसम्मका बिरामीले उपचार सेवा लिएका छन्। शुक्रबारसम्ममा चिकित्सालयबाट ३४२ पुरुष र ६७ महिला गरी ४११ जनाले सेवा लिएका छन्। तीमध्ये उपचार पश्चात २९२ पुरुष र ३७ महिला गरी ३२९ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने ८२ जना संक्रमित उपचारत छन्। दसवर्षमुनिका बालबालिका भने ८ जनाले सेवा लिएका डा पाैडेलले बताए।
उनी भन्छन्, ‘संक्रमणको उपचारभन्दा पनि समुदायमा संक्रमण फैलिन नदिन के गर्नुपर्छ भन्ने कुरा महत्त्वपूर्ण हो। यसका लागि प्राकृतिक चिकित्सालयको केही सजिलो विधि छ। जस्तो कि हात धुनुको महत्त्व हामी सबैलाई थाहा छ। त्यस्तै नाक धुने (जलनीति पद्धति), मुखभित्र कुल्ला गर्ने, बाफ लिनेजस्ता पद्धति छ। यस पद्धतिले संक्रमण हुनबाट पनि जोगाउँछ र शीघ्र संक्रमणमुक्त पनि गराउँछ। नुन पानीले कुल्ला गरेसँगै, कुनै पनि भाँडामा पानी तताएर तुलसी, निमपत्ता राखेर बाफलाई नाकबाट सुँघ्ने, योग, ध्यान, प्राणायाम गर्नु अहिलेको आवश्यकता हो भनेर समुदायले बुझ्नु पर्छ।

खुशीको कुरा त के छ भने चिकित्सालयमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा हालसम्म कसैलाई पनि संक्रमण देखिएका छैनन्। ‘हामीले पनि चिकित्साय विधि अपनाउँछौं। २/४ मिटरको दुरीमा बसेर योग गर्छाैं, प्रणायम गर्छौं, नाच्ने र गाउने पनि गर्छौं। नास्ता, खाना, खाजा सबै तालिका मिलाएर खान्छौँ। रोग प्रतिरोधात्मक क्षमता बढाउन विशेषः त मौसमअनुसारको तरकारी, फलफूल र सागपात प्रशस्त खानुपर्छ। चिकित्सालयमा मह पनि उपलब्ध गराएका छौं। तातो पानीमा मह र कागती राखेर सेवन गर्छौ।’
संक्रमित भएका व्यक्ति थोरैमा ६ दिनदेखि बढीमा ५२ दिनसम्म बसेका छन्। संक्रमित नवलपुरसँगै तनहुँ, चितवन, धनुषा, स्याङ्जालगायतका जिल्लाका छन्। समाजिक दुरी सबैभन्दा महत्त्वपूर्ण रहेको उनले बताए। कोरोना संक्रमणले बढी असर पुग्ने दीर्घ रोगका बिरामीहरू, जस्तैः मुटु, अनियन्त्रित मधुमेह, मृगौला, क्यान्सरजस्ता रोगबाट ग्रस्त, ७० वर्ष कटेका व्यक्तिलाई संक्रमितबाट टाढा राख्नु पर्ने उनको सुझाव छ।

प्राकृतिक चिकित्सालयमा सबै पक्षको सहयोग र योगदानसँगै आवश्यक समन्वयका कारण देशकै नमुना बन्न सफल भएको डा पौडेलको भनाइ छ। जिल्ला आयुर्वेद, मध्यविन्दु जिल्ला अस्पतालको टिम, एलोपेथिक उपचार गर्न चिकित्सकसहित स्वास्थ्यकर्मीहरू पनि खटिएका छन्। चिकित्सालयका कर्मचारी र सुरक्षाकर्मीको साथ, स्थानीय तह र प्रदेश सरकारको सहयोगका कारण पनि काम गर्न थप सहज भएको उनको भनाइ छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले चिकित्सालयको अवलोकनसमेत गरेका थिए। अहिले पनि बेला–बेलामा फोन गरेर बुझ्ने काम गरिरहेका उनले बताए।