भदौ १२ । इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान ज्यासन रोयले पाकिस्तानविरुद्धको तीन खेलको टि-२० क्रिकेट सिरिज नखेल्ने भएका छन्।
यसै साता वल्ड ट्राफोर्डमा अभ्यासको क्रममा रोय घाइते हुन पुगेका थिए। उनले यो सिरिज गुमाएपनि अर्को महिनामा अस्ट्रेलियासँग हुने सिरिजको लागि ठीक हुने विश्वास गरिएको छ। इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले रोय बाहिरिनु दुर्भाग्यपूर्ण भएको भन्दै अस्ट्रेलियाविरुद्धको सिरिजमा भने टिममा आउन सक्ने बताए।
इंग्ल्यान्ड र पाकिस्तानबीचको टि–२० क्रिकेट सिरिजको पहिलो खेल शुक्रबार राति (आज) हुँदैछ। टेस्ट क्रिकेट सिरिज जितेको इंग्ल्यान्ड टि–२० क्रिकेट सिरिज पनि जित्ने दाउँमा छ। तर खेलअघि नै मुख्य खेलाडी टिमबाट बाहिरिनुले टिमलाई भने धक्का पुगेको छ।
त्यस्तै, ज्यासन रोयले यो पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) पनि खेल्ने छैनन्। दिल्ली क्यापिटल्स रोयले क्लबमा भने व्यक्तिगत कारण देखाउँदै यो सिजनको आइपिएल नखेल्ने निर्णय लिएका थिए। दिल्लीले उनको स्थानमा अस्ट्रेलियाका तिब्रगतिका बलर ड्यानियल साम्सलाई अनुबन्धित गरेको छ।
आइपिएल युएईमा यहि सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म हुँदैछ। एजेन्सी


























