भदौ १२ । अफगानिस्तानका पूर्वकप्तान मोहम्मद नाबीले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा एकै खेलमा ५ विकेट लिएका छन्।
सेन्ट लुसिया जुक्सका नाबीले सेन्ट किट्स एण्ड नभिस प्याट्रिएट्सविरुद्धको खेलमा ५ विकेट लिएका हुन्। सेन्ट किट्स एण्ड नभिस प्याट्रिएट्समाथि लुसिया जुक्सले ६ विकेटको जित हात पार्ने क्रममा मोहम्मद नाबी छाए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएका प्याट्रिएट्सको सुरुवाती चार ब्याट्सम्यानलाई सस्तैमा नाबीले आउट गरे। पहिलो ओभरको तेस्रो बलमा क्रिस लिनलाई शून्यमा आउट गराएका उनले पाँचौ बलमा नाइक केलीलाई शून्यमै पेभिलियन फर्काए। त्यसपछि नाबीले दिनेश रामदिनलाई खेलको २।५ ओभरमा ९ रनमा आउट गराए। लगतै त्यसपछिको बलमा इभिन लुइस पनि व्यक्तिगत १ रनमा नाबीको सिकार बने। यो बेला प्याट्रिएट्सको ३ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदा ११ रन मात्रै थियो। प्याट्रिएट्सको ब्याटिङलाई ध्वस्त बनाएका थिए नाबीले।
१६.३ ओभरमा सोहिल तानभिरलाई आउट गराउँदै नाबीले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १५ रन खर्चिएर ५ विकेट लिए। फ्रेन्चाइज लिगमा यो उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो।
नाबीकै उत्कृष्ट बलिङमा प्याट्रिएट्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११० रनमा समेटियो। १११ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको लुसिया जुक्सले १४.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्यायो। एजेन्सी


























