काठमाडौं, भदौ ७। नेपाली कांग्रेसको फागुनमा हुने तय भएको १४औं महाधिवेशन समायोजन र क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा प्रभावित हुने खतरा बढेको छ। समायोजन तोकिएको समयमा पूरा नहुनु र समायोजन नभई क्रियाशील सदस्यता वितरण प्रक्रिया नै सुरु नहुने हुँदा समस्या हुने भएको हो।
पछिल्लो पटक केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टी अन्तरिम संरचनाको समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म तोकेको थियो। अझै ११ वटा जिल्लामा समायोजन हुन बाँकी नै छ। कांँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी कोभिड–१९ का कारण बैठक बस्न र सम्बन्धित जिल्लाबाट साथीहरू आउन समस्या भएकाले ढिलाइ भएको बताउन्छन। अहिले काठमाडौं उपत्यकासहित राई–मधेसका अधिकांश क्षेत्रमा कोरोनाका कारण बन्दाबन्दी छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल भने ११ जिल्लामध्ये आठवटा जिल्लाको समायोजनका लागि कागजपत्र केन्द्रीय कार्यालयमा आइपुगेको तर निर्वाचन समितिको बैठक बस्न नसक्दा केही ढिलाइ भएको स्वीकार गर्छन। उनले सप्तरी, धनुषा र मुस्ताङको मात्रै समायोजनका कागजपत्र आउन बाँकी रहेको जानकारी दिए।
तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते सहमति भए पनि अहिलेसम्म एकता प्रक्रिया टुङ्गोमा पुगेको छैन। केन्द्रका शीर्ष र जिम्मेवार नेता समायोजनको काम पूरा गर्न र क्रियाशील सदस्यता नवीकरण गर्र्ने कार्यमा उत्प्रेरित र सहजीकरण गर्नेभन्दा पनि धमाधम सभापतिको उम्मेदवारी घोषणा गर्न व्यस्त छन्। गोरखापत्र दैनिकबाट


























