भदौ ४ । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।
पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो।
स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे। यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे।
खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।
खेलको ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए।
खेलमा लियोनले समेत गोलको केहि अवसर पाएको थियो। तर, दुबै हाफमा पाएको अवसरलाई लियोनले सदुपयोग गर्न सकेनन्।
लियोनका केहि उत्कृष्ट प्रहार बायर्नका गोलकिपर म्यानुएल नुएरले उत्कृष्ट बचाउ गरेका थिए।
अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ।
पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।
बायर्न र पीएसजीबीचको फाइनल खेल अगस्ट २४ मा हुनेछ। एजेन्सी


























