काठमाडौं, भदौ ३ । काठमाडौं उपत्याका निषेधाज्ञा जारी गरिएपनि शेयर बजार भने खुल्ने भएको छ। आज अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निषेधाज्ञामा पनि बजार नियमित रूपमा खोलिने बताए। ‘शेयर बजार निषेधाज्ञामा पनि खोलिने छ,’ उनले भने, ‘यसअघि ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने निर्णय गरिएको थियो, त्यसैलाई निरन्तरता दिने भइएको छ।’ ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने उनको भनाइ छ।
‘भोलीको कारोबार हेछौं,’ उनले भने, ‘कारोबार रकमलगायतको अवस्थालाई हेरेर थप निर्णयमा पुग्ने छौ।’
यता, लगानीकर्ता पनि शेयर बजार बन्द गर्न नहुने पक्षमा उभिएका छन्। यसभन्दा पहिलेको लकडाउनमा नेप्से ९८ दिन बन्द भएको थियो। लामो समय बन्द भएका कारण लगानीकर्ताले शेयर खरिद बिक्री गर्न पाएका थिएनन्।
काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको बैठकले भदौ ३ गते राती १२ बजेदेखि एक साताका लागि निषेघाज्ञा जारी निर्णय गरेपनि उक्त दिनमा शेयर बजार खुल्ने भएको छ।
मंगलबार विश्व्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको भन्दै तीन जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो। संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम भदौ ३ गते राती १२ः ०० बजेदेखि भदौ १० गते राती १२ः०० बजेसम्म काठमाडौं उपत्यकाभर लागु हुने निषेधाज्ञामा पनि शेयर बजार खुल्ने भएको छ।


























