कसले सोचेको थियो होला र जीवनमा एकाएक यस्तो जटिल परिस्थिति आइदिन्छ, जस्ले पूरै विश्वलाई नै हल्लाइदिन्छ। अनि मानव जीवनको रक्षा गर्न यति धेरै सङ्घर्ष गर्नुपर्छ, बाँच्न र बचाउनको लागि बन्द कोठाभित्र थुनिएर बस्नुपर्छ र आफ्नै नजिकका प्रिय मान्छेहरूबाट समेत अछुतो झैँ गरी टाढै बस्नुपर्छ भनेर। सायदै कल्पना गरेका थियौं होला हामीले। प्रकृतिले कहिलेकाहीँ यसरी नै अनौठो तरिकाले चुनौती दिने गर्छ हामीलाई। र, एउटा शाश्वत सत्य यही हो कि जुन कुराबाट हामी बारम्बार भाग्न खोज्छौँ। जति छल्न खोज्छौँ, त्यसले हामीलाई सधैँ लखेटिरहन्छ।
सबैभन्दा पहिले हामी जो जति आजसम्म बाँचिरहेका छौँ अनि सजिलै आफ्नै फोक्सोले सास फेरिरहेका छौँ, एकचोटी कृतज्ञ होऔँ। किनकि आजसम्म विश्वभर हामीजस्ता लाखौँ मानिस सास फेर्नकै लागि अक्सिजन र भेन्टिलेरको कृत्रिम मेसिनभित्र उकुसमुकुस भएर सङ्घर्ष गरिरहेका छन्। अहिलेको विषम परिस्थिति भुसको आगो जस्तै फैलिँदै गएको कोरोना सङ्क्रमण र त्यसको समस्या अनि समाधनको बाटो खोज्न केही बिषयहरूलाई छुट्टाछुट्टै शीर्षकमा चर्चा गरौँः
१. स्वास्थ्यकर्मी युद्धका मुख्य सिपाहीहरूको सुरक्षा
यो प्रतिकुल समयमा एकचोटी बिचार गरौँ त? जसरी तपाईंले आफ्ना छोराछोरीलाई विदेशबाट नेपाल ‘फर्क’ भनेर बोलाउनु भयो इन्जिनियर छोरालाई ‘बाबु, जागिर छोड्दे, बाँच्न सके त्यस्ता जागिर धेरै पाइन्छ’ भनेर घर फर्काउनुभयो। विदेशमा पढिरहेकी छोरीलाई ‘यसपालि फेल भए पनि केही हुन्न, आइजो’ भनेर बोलाउनुभयो। त्यसैगरी कुनै एउटा चिकित्सक या स्वास्थ्यकर्मी आजसम्म जो अस्पतालमा हुनुहुन्छ, के उहाँहरूलाई आमाबुबाको फोन आएन होला र? उहाँहरूको साना नाबालक छोराछोरीले ‘बाबा/आमा हजुरहरूले हामीलाई छोडेर कता जानुभा’को’ भनेर रोएनन् होला र? के डाक्टर र स्वास्थ्यकर्मीको शरीर र तपाईंको शरीर एउटै हैन र? के उनीहरूलाई खतरा हुन्न होला र? आज केका लागि उनीहरू अस्पतालमा छन्? आम जनताकै ज्यान बचाउनको लागि हैन? कोरोना सङ्क्रणको मात्रै कुरा हैन कोरोनाको नाममा अन्य कैयौँ रोगको कारण आम जनताले अत्यावश्यक सेवा नपाएर बञ्चित हुन नपरोस् भनेरै सबै कुरा धरापमा राखेर खटिरहेका हैनन्?
नत्र आफ्नो मात्रै ज्यान जोगाउनु थियो भने जागिर र पैसा नै ठूलो हो र यो विषम परिस्थितिमा? ४० डिग्रीको तापक्रममा ५ किलोको सुरक्षा कवच अनि त्यसभित्र दिनदिनै एक लिटर पसिनाले भिजेर सेवामा खटिरहनुको पीडा हामीले बुझेका छौँ। अनि तिनै चिकित्सकहरूको नाममा अनेकौँ अपशव्द प्रयोग गरी गाली गर्न तपाईंलाई आफ्नो नैतिकताले कसरी दियो? आज सयौँ डाक्टर सङ्क्रमित भैरहँदा हामीले एकचोटी सोचेका छौँ कि तपाईं जस्तै घरभित्रै परिवारसँग समय बिताएर बसेका भए ती डाक्टर र स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित हुने थिएनन् भनेर। जो जति स्वास्थ्यकर्मी सङ्क्रमित हुनुहुन्छ, उहाँहरूप्रति मनमनै एकचोटी शीर झुकाउने गरौँ कि त्यो जोखिम मोलेर पनि हाम्रै सेवामा अहोरात्र खटिँदा उहाँहरू सङ्क्रमित हुनुभएको हो भनेर।
युद्ध दिनानुदिन कठिन बन्दैछ। हामीसँग हतियारको नाममा यिनै चिकित्सक, स्वास्थ्यकर्मी र सीमित स्रोतसाधन मात्रै छन्। यसरी अग्रपङ्क्तिमा लड्ने सिपाहीहरूलाई नै शारिरीक, मानसिक र सामाजिक रुपमा घाइते बनाएर हामी कदापि लड्न सक्दैनौँ। हरेक चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नोमात्रै ज्यान बचाउनको लागि लाग्ने हो भने सायद मानव जीवनको रक्षा गर्ने पशुपतिनाथबाहेक कोही पनि हुने छैन। राज्यको स्थानीय सरकार या प्रदेश सरकारले यसबारेमा नसोचे स्थिति अझ भयाभह बन्ने प्रष्टै छ। फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको हरेक सुरक्षाको जिम्मा सरकारको हो। तसर्थ उनीहरूको मनोबल उच्च राख्न सबैले पहल गरौँ र आजसम्मको साहसको कदर गरौँ अनि भोलिका दिनहरूमा प्रोत्साहन बढाऔँ।
२. सङ्क्रमितको उचित व्यवस्थापन र उपचार
भाइरसलाई यो थाहा नहुन सक्छ कि नेपाल गरिब देश हो, स्वास्थ्यमा धेरै स्रोतसाधन पर्याप्त नभएको देश हो भनेर। तर हामीलाई त थाहा छ नि हाम्रो धरातल। १/२ वर्ष ऐस, आराम र विलासी जीवन त्यागेर जनताको स्वास्थ्यमा लगानी गरौँ न हुन्न? केही स्रोतसाधन, अस्पताल आइसोलेसन मा बेडहरू थपौं न हुन्न? जुन जोखिममा हामी सङ्क्रमितहरूलाई घरमा राखिरहेका छौँ, कम्तिमा डाक्टरको निगरानी र उपचार चाहिनेहरूलाई उचित ठाउँमा व्यवस्थापन गरौँ। ताकि कुनै बिरामी कुनै अस्पतालमा बेड भएन, ठाउँ भएन भनेर फर्किन/ फर्काउन नपरोस्। त्यो सबै डाक्टर र स्वास्थ्यकर्मीको वसको कुरा हैन, अनि त्यसैको बदलामा ‘डाक्टर चोर, देश छोड’ भन्ने जस्ता नाराहरू फेरि सुन्न नपरोस्, भोलिका दिनमा। साँच्चिकै तपाईंले भनेजस्तै सबै डाक्टर र स्वास्थ्यकर्मीले देश छोडे भने एकचोटी कल्पना गरौँ त त्यो दिन। यो बेला सरकारी या प्राइभेट अस्पताल भनेर एक आपसमा फुट्ने बेला हैन, सरकारी र निजी भनेर हुन्न। त्यसैले त्योभन्दा अलिकति माथि उठौँ न हुन्न? हरेक बिरामीप्रति जिम्मेवारी सबै अस्पतालको हुन्छ, त्यसैले तेरो मेरो सरकारको भन्ने कुरालाई अहिले एउटा साइडमा राखौँ न हुन्न? बरु सबैसँग भएको स्रोतसाधन र जनशक्ति जम्मा गरेर एक ढिक्का भएर लागौं न, हुन्न?
३. सङ्क्रमितको आत्मसम्मान र मानसिक स्वास्थ्य
सरुवा रोग हो सामाजिक दुरी कायम गर्नुपर्छ, जुन हामी सबैले बुझेका छौँ। हामीसँग भएको हतियार भनेकै रोग लाग्नुअघि बच्ने र बचाउने हो। लागिसकेपछि कसलाई के थाहा को, कति जटिल अवस्थासम्म पुग्न सक्छ भनेर। त्यसैले भौतिक दुरी कायम गर्नैपर्छ। यसमा दुईमत छैन। तर त्यसो भन्दैमा सङ्क्रमित अर्कै ग्रहबाट आएका मान्छे जस्तो व्यवहार नगरौँ। त्यो ठाउँमा मेरै छोराछोरी, मेरै आमाबुवा र मेरै दाजुभाइ, दिदिबहिनी या मेरै आफन्त भएको भए के हुन्थ्यो भनेर सोचौं। यो भाइरसको आजसम्म पूर्णरुपमा उपचार औषधि बनेको छैन। तसर्थ हामीले देखाएको आत्मीय व्यवहार र मीठो बोलीले पनि उसलाई रोगसँग लड्न सक्ने क्षमताको विकास हुन्छ भन्ने बुझौं। ती संक्रमित भएका सबैजना हाम्रै परिवारका र यही समुदायका सदस्य हुन्, केहीदिन भौतिकरुपमा अलगिएका मात्रै हुन् भनेर सोचौं। ढिलोचाँडो समयको कुरा मात्रै हो, भोलि कुनै दिन हामी पनि यसरी नै सङ्क्रमित भएर अलग हुनुपर्ने दिन पनि त आउन सक्छ।
जुन नापले हामी अरुलाई नाप्छौँ, त्यही नापले हामी आफू पनि नापिनेछौँ। अचेल कैयौँ देशहरूमा यस्ता घटनाहरू घटिरहेका छन कोरोनाबाट ठीक भएर गएका व्यक्तिहरू सामाजिक बहिस्कार र आत्मसम्मानमा ठेस पुगेकै कारण आत्महत्या गर्न बाध्य भएका छन्। हाम्रोमा त्यो अवस्था नआओस्, ताकि मानव जीवनको अस्तित्वले कुनै दिन हामीलाई धिक्कार्ने छ। तसर्थ विश्वभर फैलिएको सङ्क्रमणबाट हामी पनि अछुतो रहेनौँ, भनेर सामान्यरुपमा लिने कोसिस गरौँ। शरीरको दुरी बढाऔँ, मनको दुरी हैन।
४. जनस्वास्थ्यको मापदन्ड अनि उचित पालना
भनिन्छ, ‘निदाएको मान्छेलाई ब्यूँझाउन सजिलो हुन्छ, तर निदाएको नाटक गर्नेहरूलाई ब्यूँझाउन गाह्रो हुन्छ’, हो अचेल यस्तै भएको छ। हामीलाई थाहा छ दिनानुदिन सल्किँदै गइरहेको भुसको आगोले हामीलाई पनि एकदिन अवश्य जलाउने नै छ। र, हामीलाई यो पनि थाहा छ कि हामी एकजना मात्रै पनि त्यो सल्केको आगोबाट जोगिन सक्यौँ भने हामीले अरु धेरैलाई बचाउन सक्छौँ। हो गाह्रो सबैलाई छ। हुनेखानेलाई त गाह्रो नहोला, तर हुँदा खानेलाई धेरै नै गाह्रो छ। निम्नवर्गका मजदुरहरूको चुलो बल्न छोडिसक्यो। तर के गर्ने यो सबै कुरा बाँच्नकै लागि गरिएका सङ्घर्ष हुन्। बरु हामी जो–जतिको चुलो निभेको छैन, निभेकालाई बाल्न थोरै सहयोग गरौं न हुन्न ? राज्य र सरकारले पनि निम्नस्तरका व्यक्तिहरूको जिविकोपार्जनका लागि यो जटिल घडीमा थोरै प्रयास गरोस्।
यो प्रतिकुल समयमा घरबाट बाहिर ननिस्किनु भनेको हामीले आफ्नो कर्तव्य पूरा गरेको हो भनेर सम्झनुपर्छ, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गरेको हो भनेर सम्झनुपर्छ। किनकि आजको समयमा यही नै मानव धर्म हो। अध्ययन अनुसन्धान र भ्याक्सिनको तयारी हुँदैछ, केही महिनामा आइपुग्न सक्छ। तर त्यसअघि हामी आफैँ सचेत रहन जरुरी छ। वर्तमान परिस्थितिमा जस्तै दिनदिनै स्वास्थ्यकर्मी सङ्क्रमित हुँदैगए भने उपचार गर्ने डाक्टर नै भेटिन्छ कि भेटिन्न त्यो पनि थाहा छैन। डाक्टर भेटिहालियो भने पनि बेड खाली नहुन सक्छन्। बेड भेटियो भने पनि सघन उपचार कक्ष (आइसीयू) खाली नहुन सक्छ। आइसियु भेटियो भने पनि भेन्टिलेटर त पक्कै पाइन्न होला। त्यसैले त्यतिबेला आफन्तको भीड लगाएर आवेशमा भेला हुने र अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेर मृत शरीर जीवित बन्न सक्दैन।
त्यसैले बेलैमा सोचौँ। केहीसमय नमीठै खाए पनि हुन्छ, पुरानै कपडा लगाए पनि हुन्छ, साथीभाइ भेटघाट र मनोरन्जनलाई स्थगित गरे पनि हुन्छ। केही समय बाँच्नको लागि जीवनशैलीको गुणस्तरसँग अलिकति सम्झौता गरेर के बिग्रिन्छ र? त्यसैले आफ्नै साथी, आफ्नै प्रिय मान्छे भनेर एउटै चुरोट ४ जनाले तान्न छोडौँ। अनि चुम्बक जसरी भौतिकरुपले टाँसिन छोडौँ किनकि भाइरसले आफ्नो र पराय, प्रिय र अप्रिय अथवा दुश्मन केही चिन्दैन।
अन्तमा, यो युद्ध एक्लै लड्न सम्भव छैन। एकले अर्कोलाई सकेसम्म सजिलो बनाइदिने काम गरौँ। तपाईं घरमै बसेर मलाई सजिलो बनाइदिनुस् म तपाइँ र तपाइँजस्तै अरुको सेवामा अझै खटिन्छु। अलिकति भए पनि सहज तरिकाले काम गर्न सकूँ। सङ्क्रमित स्वास्थ्यकर्मीहरू जसले आजसम्म अहोरात्र तपाईंको सेवामा खटिनुभयो, तपाईंलाई सजिलो बनाइदिनुभयो, अब उहाँहरूलाई शारिरीक, मानसिक र सामाजिकरुपले सजिलो बनाइदिने काम तपाईंहरूको हो। अनि सम्पूर्ण सङ्क्रमित व्यक्ति जो जहाँ र जसरी सङक्रमण भएको भए पनि अनुशासित भई आफ्नो मर्यादामा बसी आफूबाट अरुलाई सर्न नदिन सक्दो प्रयास गर्ने कर्तव्य तपाईँहरूकै हो। अनि तपाईलाई केही समस्या भइहालेमा पूरै सुरक्षा कवच लगाएर तपाईहरूकै समस्या समाधान र उपचार गरेर सजिलो बनाइदिने काम हामी डाक्टर र स्वास्थ्यकर्मीको हो। अनि भोलि तिनै स्वास्थ्यकर्मी डाक्टरलाई कोरोनाको उपचार गर्ने डाक्टर भनेर छिःछि र दुरदुर नगरी एउटा मानवीय समवेदना र आत्मसम्मानमा ठेस नपुर्याई समान व्यवहार गरेर हाम्रो मनोबल बढाइदिने काम आमसर्वसाधारण जनताको हो। तसर्थ हरेस नखाऔँ, यो विषम परिस्थिति सबै मिलेर सामना गरौं। समय एकदिन अवश्य परिवर्तन हुने नै छ, बस केही समय धैर्यतापुर्वक सामना गरौँ।
(लेखक हेटौंडा अस्पतालमा कार्यरत छिन्।)























