काठमाडौं, भदौ १ । नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ। नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन्। ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो।
‘१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो। यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ। यो उहाँकै नेतृत्वमा सम्भव भएको हो। सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ।’
कुलमानको ४ वर्षे कार्यकाल यही २९ गते सकिँदैछ। उनको कार्यकाल सकिएसँगै सो पदका लागि दौडधुप गर्नेको संख्या बढ्दै गएको बताइन्छ। यस्तो अवस्थामा प्राधिकरणका करिब १५ हजार कर्मचारीको साझा संस्थाको रुपमा रहेको ट्रेड युनियनले उर्जामन्त्री सहित विद्युत् क्षेत्रका सबैजसो व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा यस्तो माग गरेको हो।


























