बेलबारी, भदौ १ । मोरङको पथरीमा चित्तल सहित सोमबार दुई जना शिकारी पक्राउ परेका छन्। पथरी शनिश्चरे नगरपालिका २ मा रहेको हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरि जंगली जनावर चित्तललाई पासोमा पारी लैजानै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्र कुमार श्रेष्ठ र सोही वडा वस्ने वर्ष २१ को विश्ववन्धु भन्ने विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन्। उनिहरुको साथबाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको रुपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी वरामद गरेको छ।
पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको प्रहरीले जनाएको छ। वन क्षेत्रको माथिल्लो भागमा चित्तललाई पासोमा पारी तान्दै लैजाने क्रममा वन हेरालुहरुले देखेर प्रहरीलाई खवर गरेपछि वनका पदाधिकारी र प्रहरीको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।
कोरोना कहरका कारण समुदायस्तरवाट नियमित रुपमा वनको गस्ती गर्न सम्भव नभएका कारण चोरी शिकारीका घटनाहरु वढ्दो क्रममा रहेको हरीयाली सामुदायिक वनका अध्यक्ष कावुल बहादुर मगरले वताए।


























