काठमाडौं, भदौ १ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ। ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ।
प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो। सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो।
आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाउन सफल भएको हो।
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ। प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो।
प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ। दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ।


























