पोखरा, भदौ १ । पोखरा महानगरमा एक साता निषेधाज्ञाका लागि सिफारिस भएको छ। महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म एक साताका लागि निषेधाज्ञा लगाउन सिएमसीमा सिफारिस गरेको हो।
समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पछिल्लो समय पोखरामा कोरोना संक्रमित दर बढ्दै गएको र तीजमा बढी चहलपहल हुने हुँदा संक्रमण फैलिन नदिन हिजो (आइतबार) बसेको सर्वदलीय बैठकको सुझाव अनुसार यस्तो सिफारिस गरिएको जानकारी दिइन्।
आइतबार सर्वदलीय बैठकमा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा र राप्रपाका प्रतिनिधि सम्मिलित थिए। यता, सीसीएमसीको बैठक भने दिउँसो बस्ने तयारी रहेको छ। पोखरामा शनिबार १३ जनामा संक्रमण देखा परेकोमा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सोमबार थप १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय ३९ पुगेको छ।


























