काठमाडौं, साउन ३२ । गृह मन्त्री रामबहादुर थापाले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरू पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन्। थापाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको सबै नियमहरू पालना गर्न अपील गरेका हुन्।
सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उनको भनाइ छ।
गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरू पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए।
‘कोरोनाको सन्दर्भमा नागरिकहरूले पनि बन्दाबन्दीका नियमहरूलाई पालन गर्दिनहुन म अनुरोध गर्न चाहन्छु। सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकहरूको सहभागिता र सचेतताले मात्रै संक्रमणलाई हामीले रोक्न सक्छौं। म सबै आदरणीय दाजुभाई दिदी बहिनिलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमहरूलाई पालन गरिदिनुहुन अनुरोध गर्दछु,’ उनले भने।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी लागू भएपनि फेरी संक्रमण बढिरहेकाले सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताए।
पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको उनले प्रस्ट पारे।
बन्दाबन्दीका कारण आर्थिक समस्याहरू देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताए।
‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर हामीले काम गरिराखेका छौं र स्वास्थ्यका मापदण्डहरू अपनाएर उद्योग व्यवसायहरू पनि हामीले सञ्चालन गर्नुपर्ने छ। अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्ने छ। यी दुईवटै कुरालाई हामीले अगाडि बढाइराखेका छौं,’ उनले भने।
सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोकेपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको जानकारी थापाले दिए।
अहिले पनि खुला नाकाहरू नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताए।
‘अब हामीले खुल्ला नाकाहरूलाई नियन्त्रण गर्नको निमित्त १२ सय भन्दा बढी बोर्डर आउटपोस्टहरू स्थापना गरिएको छ। त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ। त्यहि पनि लुकिछिपि आउने केही मात्रामा भई राखेको छ। यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ,’ उनले भने।
अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताए। कोरोनाको लागि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशिल रहेको र बाढी पहिरोको लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले जानकारी दिए।
यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले बताए।


























