काठमाडौं, साउन ३२ । गत आर्थिक वर्षमा सुन आयात ६० प्रतिशतले घटेको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७६र०७७ मा सुनको आयातमा भारी गिरावट आएको हो।
अर्थका अनुसार गत वर्ष १३ अर्ब ६४ करोड रूपैयाँको सुन आयात भएको छ। अघिल्लो वर्ष ३४ अर्ब ६४ करोड रूपैयाँ बराबरको आयात भएको थियो।
सुनसँगै चाँदीको आयातमा पनि भारी गिरावट आएको छ। गत वर्ष ९ अर्ब ४९ करोड रूपैयाँ बराबरको चाँदी आएको थियो। त्यसअघि आर्थिक वर्ष २०७५र०७६ मा १६ अर्ब ९ करोड रूपैयाँको चाँदी आयात भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।
डिजेल, पेट्रोल पनि घट्यो
कोरोना भाइरसका कारण आवागमन अवरोध हुँदा कम खपत भएपछि डिजेल तथा पेट्रोलको आयात पनि कम भएको छ। गत वर्ष डिजेल आयात २७ प्रतिशतले घटेको छ। गत वर्ष ८७ अर्ब ३८ करोड रूपैयाँको डिजेल आयात भएको थियो।
यसैगरी पेट्रोल आयात २०।२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३५ अर्ब ५५ करोड रूपैयाँको पेट्रोल आयात भएकोमा गत वर्ष २८ अर्ब ३७ करोड रूपैयाँको पेट्रोल आयात भएको मन्त्रालयले जनाएको छ।


























