काठमाडौं, साउन ३१ । फेसबुकले इन्स्टाग्राम र फेसबुकको च्याट सिस्टमलाई एकीकृत गर्न छुट्टै स्वीच उपलब्ध गराउने भएको छ। शुक्रबार केही प्रयोगकर्ताको इन्स्टाग्रामको मोबाइल एपमा ‘इन्स्टाग्राममा म्यासेज गर्ने तरिका’ लेखिएको एउटा पपअप म्यासेज देखा परेको थियो।
जसमा ‘तपाईंको च्याटको लागि नयाँ रङ्गिन लूक, थप इमोजी रिएक्सन, स्वाइप टु रिप्लाइ र ‘फेसबुक प्रयोग गर्ने साथीहरुसँगको च्याट’ लगायतका फिचरहरु रहेका छन्। जब तपाईंले अपडेटमा हिट गर्नुहुन्छ तब तपाईंको इन्स्टाग्रामको माथी दायाँतर्फ रहेको डीएम आईकन फेसबुक म्यासेञ्जरको लोगोबाट प्रतिस्थापित हुन्छ।
साच्चिकै यसले इन्स्टाग्रामको च्याटलाई यस अघिभिन्दा निकै कलरफुल बनाएको छ। जसमा पठाउने व्यक्तिको म्यासेज निलो र कलेजी रंगमा परिवर्तन हुँदै जान्छ। यद्यपी अहिलेलाई फेसबुक प्रयोगकर्तालाई इन्स्टाग्रामबाट म्यासेज गर्न भने सम्भव भइसकेको छैन।
तर फेसबुकले भने आफ्ना प्रशिद्ध म्यासेजिङ प्लेटफर्मको रुपमा रहेका म्यासेञ्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने स्पष्ट योजना बनाइसकेको छ। यस अघि नै कम्पनीले विद्यमान पूर्वाधारलाई पुनः निर्माण गर्ने बताइसकेको छ।
जसबाट कुनै एउटा मात्र एप प्रयोग गर्ने प्रयोगकर्ता पनि फेसबुकका अन्य एप प्रयोग गर्नेहरुसँग सम्पर्क गर्न सक्नेछन्। फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले यो सिस्टमलाई ईण्ड टु ईण्ड इन्क्रिप्सनमा आधारित बनाउन चाहेको बताइसकेका छन्।
आफ्ना लोकप्रिय एपहरु इन्टिग्रेटिङ (एकीकृत) गरी फेसबुक एप्पलको आईम्यासेजसँग प्रतिस्पर्धामा उत्रिनसक्नेछ। फेसबुकले सन् २०१२ मा इन्स्टाग्रामलाई एक अर्ब डलरमा अधिग्रहण गरेको थियो भने ह्वाट्सएपलाई सन् २०१४ मा १९ अर्ब डलरमा खरिद गरेको थियो।


























