सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरो गएको छ। पहिरोलै एकै गाउँका २२ घर पुरिएको जनाइएको छ । पहिरोमा परी धेरै मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको छ।
शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए।
महर्जनका अनुसार उक्त गाउँमा २२ घर छन्। ती सबै घर पुरिएको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए।
प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ।
गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार पहिरोमा परेका १५ जना घाइते आफैँ निस्किएका छन्। पहिरो भएको क्षेत्रमा जान सक्ने अवस्था नरहको उद्धारमा जुटेका स्थानीय आशबहादुर तामाङले जानकारी दिए। पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी बताए।
घटनाको थप जनाकारी आउन बाँकी छ।


























