बुटवल, साउन २९ । समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ।
प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति पौने् १२ बजेदेखि आगामी भदौ ५ गते राति पौने १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको उक्त बैठकमा सुरक्षा निकायका र राजनीतिक दलका प्रतिनिधिहरु समेत सहभागी थिए ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माका अनुसार बैठकले बुटवलबाट बाहिर जाने र बुटवल भित्रिनेहरूका लागि २४ घण्टाको समय दिएको छ।
लकडाउन अवधिमा अत्यावश्यक सेवाका क्षेत्रहरूमात्र खुला रहनेछन्। खाद्यान्न, दुध तथा तरकारी ढुवानी र बिक्री खुला रहनेछ। बुटवल हुँदै चल्ने लामो दूरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइनेछ।
ढुवानीका साधनहरूलाई विशेष सुरक्षा अपनाएर सामान उठाउन र झार्न दिइनेछ। उद्योगमा काम गर्ने कर्मचारी तथा कामदारहरूलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ।
यसैगरी लकडाउन अवधिमा उपमहानगर कार्यालय तथा सबै वडा कार्यालरूबाट हुने अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले दिएको जानकारीअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अधामात्रै कर्मचारी बोलाएर कार्यालय सञ्चालन गर्न पाउनेछन्।
लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधनसमेत अत्यावश्यकबाहेक चलाउन पाइने छैन।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि अत्यावश्यक सेवाबाहेक अरू सञ्चालन नर्गन एक विज्ञप्तिमार्फत आग्रह गरेको छ।


























