प्यूठान, साउन २८ । प्यूठानको माण्डवी गाउँपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ। गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए।
गाउँपालिकामा कार्यरत एक पुरुषमा संक्रमण पुष्टि भएको हो। अर्को सूचना जारी नहुँदासम्म अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको उनले बताए।
यस्तै जिल्लामा हाल सम्म कोरोना संक्रमण पुष्टि भएको संख्या ३ सय ७५ पुगेको छ। संक्रमितमध्ये ३ सय ३७ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयका कोलचेन निरीक्षक कौशलराज वैद्यले बताए। जिल्लामा हाल संक्रमीत ३८ जनामध्ये २१ जना इन्द्रध्वज गण प्यूठानमा कार्यरत नेपाली सेना छन्। सोमबार १४ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार थप ७ जनामा संक्रमण पुष्टि भई २१ पुगेको हो। यस्तै ३ जना थुनुवामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
परीक्षणका लागि हालसम्म जिल्लामा ३ हजार ४ सय ७० जनाको स्वाव संकलन भएको छ। जसअन्तर्गत सोमबारसम्म २ सय ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।


























