काठमाडौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताएकाछन्।
छब्बीसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको संविधान र प्रचलित कानूनअनुसार सम्पूर्ण आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको जनाए।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने लक्ष्य तय भएकामा महामारीपछि नेपाललगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा खडा भएको चुनौतीको सामना गर्दै सरकार अग्रसर भएको स्पष्ट गरेकाछन्। उनले कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आआफ्ना स्थानमा रहेर दिवस मनाउन पनि सबैमा आह्वान गरेकाछन्।


























