काठमाडौं, साउन २५ । नेकपाका सांसदले आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरी पार्टी फुट्नु कुनै हालतमा उचित नभएको बताएका छन्।
उनीहरूले पार्टी विभाजन गर्न नहुने भन्दै हस्ताक्षर अभियान चलाएका छन्। कार्यक्रममा बोल्दै सांसद विशाल भट्टराईले भने, ‘अहिले हस्ताक्षर अभियान सञ्चालन गऱ्यौँ, आवश्यक परे पार्टी कार्यालय र नेताहरूको घरमा धर्नासमेत दिनेछौँ। यो झगडा गरेर जुन गाईजात्राजस्तो भइरहेको छ, यो उचित छैन।’
त्यस्तै, रामकुमारी झाँक्रीले अहिले पार्टी विभाजन गरेर फेरि यस्तै ठूलो पार्टी निर्माण गर्न कठिनाइ हुने बताइन्। उनले भनिन्, ‘अहिले पार्टी विभाजन गरेर सानो बोर्ड झुन्डाएको अर्को पार्टी त बन्ला, तर मुलुक हाँक्ने पार्टी बन्दैन।’
सुदृढ पार्टी एकीकरणका लागि दबाब दिनुपरेको सांसद सुरेशकुमार राईले बताए। उनले भने, ‘सुदृढ एकताका निम्ति सांसदहरूको तर्फबाट सिंगो देशवासी र पार्टीका माथिदेखि तलसम्मका सबैलाई अपिल गरेका छौँ।’
सांसद गणेश पहाडीले नेतृत्वले एक ठाउँमा बसेर विधि, प्रक्रिया र प्रणालीभित्र बसेर समस्या समाधान नगरे दोस्रो चरणमा समाधानको विकल्पसहित हस्तक्षेपकारी भूमिका खेल्ने बताए। उनले अहिले पार्टीभित्रको अन्तरविरोधलाई लिएर सडकमा भइरहेको पक्ष–विपक्षको नारा, जुलुस बन्द गर्नुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा गणेश पहाडी, सुरेश राई, पार्वती विशुङ्खे, कृष्णप्रसाद दहाल, जीवनराम श्रेष्ठलगायतका सांसदहरूको उपस्थिति थियो।
केन्द्रीय सचिवालयका नेताहरू, स्थायी कमिटी सदस्य र मन्त्रीहरूबाहेकले एकताको दबाबका लागि हस्ताक्षर गरेका छन्।
अभियानमा ६१ जना सांसदहरूले हस्ताक्षर गरेका छन्।


























