साउन २३ । इटालियन क्लब रोमालाई हराउँदै सेभिया युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको अन्तिम १६ को खेलमा स्पेनिस क्लब सेभियाले रोमालाई २–० ले हराएको हो।
अन्तिम मिनेट १० खेलाडीमा सिमित बनेको रोमाविरुद्ध स्पेनिस क्लब सेभियाले पहिलो हाफमै दुई गोल गरेको थियो।
पाँच पटकको च्याम्पियन सेभियाले जित निकाल्दै अन्तिम ८ मा आफुलाई सुरक्षित गरेको छ।
खेलको २२ औं मिनेटमा सर्जियो रेगुईलनले सेभियालाई अग्रता दिलाएका थिए। रियल मड्रिडबाट लोनमा सेभिया पुगेका सर्जियोको गोलसंगै टोलीले अग्रता लिएको थियो।
यूसुफ एन नेसरीले ४४ औं मिनेटमा दोस्रो गोल गर्दै सेभियाको जित सुनिश्चित गरेका थिए।
पहिलो लेगको खेल कोरोनाले प्रभावित बनेपछि युरोपा लिगको बाँकी खेल जर्मनीमा सञ्चालन गरिएको छ।
सेभिया पछिल्ला १८ खेलमा अपराजित रहेको छ। अन्य क्लब भन्दा उसले धेरै पटक प्रतियोगिता जितेको छ। क्वाटरफाइनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभियाले उपाधि समेत जितेको छ।
अर्को खेलमा बायर लेवरकुसेनले रेञ्जरको १३ महिनाको युरोपा लिगको यात्रामा पूर्ण विराम लगायो। रेञ्जर पहिलो पटक अन्तिम १६ मा छनोट भएको थियो।
मार्च १२ मा भएको पहिलो लेगको खेलमा लेवरकुसेनले ३–१ को अग्रता बनाएको थियो।
दोस्रो लेगको खेलमा रेञ्जरले कुनै चुनौती दिन सकेन।
काई हाभट्र्जको प्रहार बारमा लागेर फर्किएको खेलमा मौसा डायबीले एकमात्र विजयी गोल गरे। लिभरकुशन समग्रमा ४–१ को नतिजा सहित क्वार्टरफाईनल प्रवेश गर्न सफल रह्यो।
लिभरकुशनले सोमबार क्वार्टरफाईनलको खेलमा सिरि ए क्लब ईन्टर मिलानसंग खेल्नेछ। एजेन्सी


























