काठमाडौं, साउन १७ । नेपाल आयल निगमले गएको १५ दिनमा पेट्रोल र डिजेलमा घाटा व्यहोरेको छ। निगमका अनुसार १५ दिनमा पेट्रोल प्रति लिटर ३ रुपैयाँ र डिजेलमा झण्डै एक रुपैयाँ घाटा व्यहोरेको छ।
निगमले १५ दिनमा करोडौं घाटा व्यहोरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य वृद्धि भइरहँदा निगमले पुरानै मूल्यमा विक्रीवितरण गर्दा घाटा व्यहोरेको हो।
प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएको निगमले आज साँझसम्ममा मुल्य वृद्धि गर्ने बुझिएको छ। पेट्रोलमा कम्तिमा तीन रुपैयाँ र डिजेलमा कम्तिमा एक रुपैयाँ मुल्य वृद्धि हुने तयारी भएको छ।
निगमले मट्टीतेल, एलपी ग्याँस र हवाई इन्धनमा भने नाफा गरिरहेको छ। हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ छ। डिजेल र मट्टीतेलको मुल्य समान ८८ रुपैयाँ छ।
नेपाल र भारतको सीमामा पनि तेलको मूल्यमा निकै भिन्नता छ। रक्सौलमा पेट्रोल प्रति लिटर १३३.५८ नेपाली रुपैयाँ छ भने वीरगञ्जमा १००.५० रुपैयाँ छ। डिजेलको मुल्य रक्सौलमा १२४.४७ र वीरगञ्जमा ८६.५० छ। रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल ३३.०८ र डिजेल ३७.९७ रुपैयाँले सस्तो छ। यसकारण नेपालबाट भारततर्फ तेलको तस्करी समस्या बनेको छ।


























