वीरगञ्ज, साउन १७ । पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिलासहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।
संक्रमित हुनेमा प्रतिनिधिसभा सांसद प्रदीप यादव पनि रहेका छन्। उनका अंगरक्षक र सवारी चालकमा पनि संक्रमण देखिएको छ।
त्यसैगरी नारायणी अस्पतालका चिकित्सक र कर्मचारी गरी २ जना, मास टेस्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ। आफैं पैसा तिरेर परीक्षण गराएका १० जनामा पनि संक्रमण देखिएको छ।
मास टेस्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको हो भने वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका १० जनामा संक्रमण देखिएको हो।
पछिल्लो समयमा पर्सामा कोरोना संक्रमितको संख्या व्यापक रुपमा बढेको छ। आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमितलाइ घरमै राखिएको छ। सबैभन्दा बढी वीरगञ्जमा १ सय १८ जना अस्पताल बाहिर छन्। वीरगञ्जस्थित अस्थायी कोरोना अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण देखिएको छ।


























