साउन १७ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि उचालेको छ। शुक्रबार राति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि उचालेको हो।
अन्तिम पटक आयोजित लिग कपको फाईनल खेल गोल रहित बराबरीमा सकिएको थियो।
सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए। पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए।
करिब ५ हजार दर्शक फाईनल खेल हेर्न उपस्थित थिए।
गत अप्रिलमा फ्रान्सको घरेलु फुटबल बन्द गरेपछि यो दोस्रो औपचारिक खेल थियो। गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो।
खेलको अतिरिक्त समयमा लियोनले राम्रो खेल प्रर्दशन गरेको थियो। खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खादै मैदान बाहिरिएका थिए। उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए।
पीएसजीले फाईनल खेलमा फरवार्ड केलियन एम्बाप्पेलाई गुमाएको थियो। मांशपेशीमा समस्या आएसंगै उनी तीन हप्ता मैदान बाहिर छन्।
पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि उचालिसकेको छ। एजेन्सी


























