साउन १६ । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरिएको छ।
स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोपमा फिफा अध्यक्ष इन्फान्टिनोविरूद्ध मुद्दा दायर गरिएको हो। उनीविरुद्ध स्विट्जरल्यान्डमा मुद्दा दायर भएको छ।
अदालतले लौबरले फिफाको छानबिन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेको कुरा लुकाएको जनाएको छ। फिफा अध्यक्ष जियानी र महान्यायाधिवक्ता लौबेर दुवैले आफूले गल्ती नगरेको बताउदै आएका छन्। फिफाको भ्रष्टाचार अध्ययनका क्रममा गत हप्ता सो बैठकमा उपस्थित भएको र सुपरभाइजरलाई ढाँटेको अभियोगमा लौबरलाई राजीनामा दिन प्रस्ताव गरिएको थियो। तर, उनीहरु दुवैले उक्त बैठकमा कुनै गलत नगरेको बताउँदै आएका छन्।
यता फिफाले इन्फान्टिनो र गभर्निङ बडीले अदालती अध्ययनमा सहयोग गर्ने बताएको छ। फिफाका तर्फबाट अध्यक्ष इन्फान्टिनोले जारी गरेको सूचनामा भनिएको छ, ‘फिफाको अध्यक्षका हैसियले विगतमा यहाँ भएका कामको अनुसन्धानको पक्षमा छु। पहिलो दिनबाटै मेरो लक्ष्य पनि यही नै छ।’ उक्त सूचनामा इन्फान्टिनोले गत जुनमा स्विजरल्यान्डका महान्यायाधिवक्तासँगको भेटघाट पूर्णरुपमा वैध भएको र यो कुनै पनि नियमको उल्लंघन नगरेको बताएका छन्।
लौबरले भने जुलाई ३१ बाट लागू हुने गरी राजीनामा बुझाएका महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएको छ। गत जुनबाट स्वीस सरकारी कर्मचारी स्टेफेन केलर सो भेटघाटबारे अध्ययन सुरु गरेका थिए। उनले त्यहाँ शंकास्पद काम भएको पाएपछि महान्यायाधिवक्ताको कार्यालयमा अनुसन्धान सुरु गरेका थिए। उक्त बैठकमा मुख्य सरकारी वकिलहरुको पनि उपस्थिति रहेको थियो। एजेन्सी


























