काठमाडौं, साउन १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्बर्द्धनवादी राजनीतिक दलहरूको छाता संगठन ‘इन्टरनेशनल डेमोक्राटिक युनियन’ को सदस्यता प्राप्त गरेको छ।
युनियन कार्य समितिको आज बसेको भर्चुअल बैठकले राप्रपालाई सदस्यता दिने निर्णय गरेको हो।
क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अष्ट्रेलियाको सत्तारुढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको थियो।
उक्त प्रस्तावको माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए। नसिरले दक्षिण एशियाली मुलुकबाट थप सदस्य भएकोमा खुसीसमेत व्यक्त गरेका छन्।
विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए।
बैठकमा बोल्दै अध्यक्ष थापाले प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा थप चुनौती देखा परेको चर्चा गर्दै सम्बर्द्धनवादी पार्टीहरूको एकता र सहकार्यको आवश्यकता झन् बढेको बताएका छन्।
थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडीयूको भूमिका महत्वपूर्ण हुने पनि विश्वास व्यक्त गरे। युनियनको मुल्य, मान्यताप्रति राप्रपा प्रतिबद्ध रहेको भन्दै थापाले सदस्यतामार्फत सहकार्यको निम्ति अवसर दिएकोमा युनियनप्रति आभार व्यक्त गरेका छन्।
संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा आयोजना हुने तय भएको बैठक कोभिड–१९ का कारण भर्चुअल रुपमा भएको थियो।
बैठकले नेपालसहित युक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको छ।
युनियनको आगामी अन्तर्राष्ट्रिय सम्मेलनले निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए।


























