साउन ११ । नियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको हो।
कम्पनीले करिब २४ अर्ब रुपैयाँ (२० करोड डलर) को कोष बनाउने र त्यसबाट प्रयोगकर्तालाई पैसा दिन लागेको जनाएको हो।
उक्त नयाँ घोषणा यो वर्षको अन्त्यतिरबाट लागू हुने छ। यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ।
टिकटक प्रयोग गरेबापत आम्दानी हुने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ।
विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो।
टिकटकको मापदन्ड अनुसार १८ बर्ष माथीका र आफूले नै तयार गरेका ओरिजिनल कन्टेन्टमा मात्र यस्तो रकम प्रयोग हुनेछ। आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कतिले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने अहिलेसम्म स्पष्ट भने छैन।
टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन्। विश्वभर नै अत्यधिक लोकप्रिय टिकटक पछिल्लो समय भने समस्यामा पर्दै गएको छ।
चीन र भारतबीचको सिमा विवादका कारण भारतले टिकटकमाथी प्रतिबन्ध लगाएको छ भने अमेरिकासँग बढ्दो दूरीका कारण त्यहाँ पनि प्रतिबन्धको सम्भावना उत्तिकै छ।
यहिं सम्भावनालाई क्षीण बनाउन टिकटले हालैमात्र अमेरिकामा १० हजार रोजगारी सिर्जना गर्ने नयाँ योजना पनि सार्वजनिक गरेको छ। नेपाली प्रयोगकर्तामाझ पनि टिकट उत्तिकै लोकप्रिय छ।


























