काठमाडौं, साउन ११ । गोविन्दराज जोशीलगायतका नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार नेपाली कांग्रेसले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। जोशी र ओझालाई ५र५ वर्ष र बिष्टलाई ३ वर्षको लागि निष्कासन गरिएको छ।
यही विषयमा टिप्पणी गर्दै डा.कोइरालाले सम्पूर्ण जीवन पार्टीमा बिताएका वरिष्ठ नेतालाई निष्कासन गर्दा के सन्देश जान्छ भन्दै प्रश्न गरेका छन्। अन्य पार्टीका नेताहरुलाई कांग्रेस प्रवेश गराउने लहर चलेको बेला चालिएको यो कदमलाई उनले दुर्भाग्यपूर्ण भनेका छन्।
सामाजिक सञ्चालमा आफ्नो विचार राख्दै डा.कोइरालाले भनेका छन्, ‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’
जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही भएको बताइएको छ।
त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो। राणाविरुद्ध भित्रिरुपमा ‘टुरिस्ट भगाउु अभियान’ सञ्चालन गरेको ओझामाथि आरोप थियो।
यस्तै कार्यालय सचिव बिष्ट र महिला संघका नेतृबीच झडप भएको विषयलाई लिएर कारबाही गरिएको छ। गत असार तेस्रो साता कार्यालय सचिव बिष्टको कुटपिटबाट महिला संघकी केही नेतृहरु घाइते पनि भएका थिए। यिनै कारणहरु बताइएपनि यी तीन माथि रिसइबीको आधारमा कारबाही भएको समेत कांग्रेस वृत्तमा चर्चा चलेको छ।


























