काठमाडौं, साउन ९ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले क्विक रेस्पोन्स कोड (क्यूआरसी) भुक्तानी प्रणाली स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ।
उक्त कम्पनीले विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाईन भुक्तानीलाई अझ आधुनिक,सहज र एकीकृत गर्न सक्ने गरी उक्त स्मार्ट क्यूआर सञ्चालनमा ल्याइएको बताएको छ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई बढावा दिदैं वित्तीय कारोवार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका निमित प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए।
मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वताअनुसार यो सेवा सञ्चालनमा ल्याइएको उनले बताए।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने कम्पनीको लक्ष्य रहेको छ। स्मार्ट क्यूआरको प्रयोगबाट छिटो, मितव्ययी र सरलढंगले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ।
विशेषगरी उक्त क्यूआरसी भुक्तानी प्रणालीबाट आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले स्वदेशी तथा बिदेशी क्यूआर भुक्तानी सेवाहरुको बीचमा पनि सहजै कारोवार गराउन सक्नेछन।
स्मार्ट क्यूआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यूपे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तरराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको कम्पनीले बताएको छ।
आगामीदिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराउँदै यसको पहुँचलाई अझै बिस्तार गर्दै लैजाने लक्ष्य लिएको उक्त कम्पनीले बताएको छ।
राष्ट्रको भुक्तानी प्रणालीको डिजिटाइजेशन प्रक्रियामा ग्राहकलाई आधुनिक सेवा प्रदान गर्न कम्पनी सधैं अग्रसर रहने बताइएको छ।


























