चितवन । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गर्यो। पुरा देश घरभित्र बस्यो। यो नेपालको मात्र कथा थिएन। विश्व नै घरभित्र लुकिरहेको थियो।

अरू कथा त आम नै भैहाले। कवि लेखकहरूलाई भने यो लकडाउनमा विशेष ध्यान राखिएको रहेछ भन्ने कुरा एकजना पत्रकारको फेसबुक स्टाटसबाट बुझियो। स्टाटसको आशय थियो, ‘अरू बेलामा समय नभएर लेख्न नपाइएको गुनासो गर्ने कवि लेखकहरूले लकडाउनभरी फिलिम मात्रै हेरेछन्।’ कवि लेखकहरूकै केही अन्तरवार्तामा पनि यही आशय थियो कि फुर्सद् हुँदैमा लेख्न नसकिने रहेछ।’
यसैबीच पत्रकार विनोदबाबु रिजालले यसको गतिलो जवाफ दिए। यसलाई ‘चुनौती’ नै पनि भन्न सकिन्छ, कवि लेखकहरूका लागि (सबैका लागि होइन)। पूर्णरुपमा फुर्सदिलो समय पाउँदा कवि लेखकहरूबाट थुप्रै कृतिहरू आउलान् भन्ने आश गर्न सकिन्थ्यो, तर यो आशलाई भने एकजना व्यावसायिक पत्रकारले पूरा गरिदिए। उसो त समीक्षक उदय अधिकारीले भुपिन, सरिता तिवारीलगायतका साहित्यकारहरूबाट कृति आउँदै गरेको जानकारी गराए। तर उनकै जानकारीअनुसार लकडाउनले दिएको पहिलो कृति बन्यो, विनोदबाबु रिजाल स्वयमकाे पहिलो पुस्तक ‘एकान्तवास’।

भोग्न त हामी सबैले यो लकडाउन अवधिमा आ-आफ्नै अनुभूतिहरू भोग्यौं। तर ती भोगाइमै समेटिए। ती भोगाइले अक्षरसम्म पाएनन्। पत्रकार रिजालले भने त्यसलाई पुस्तकाकार रूपमा नै हामी समक्ष टकारिदिए, आज एक समारोहबीच। बरिष्ठ कवि, गजलकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रम रामेश्वर पुस्तकालयको सभाहलमा भएको थियो। पुस्तकलाई प्रमुख अतिथि गोविन्दराज विनोदीलगायत लेखककी आमा, श्रीमती, सासुआमा, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, कवि तथा कथाकार एलबी क्षेत्री, चितवन साहित्य परिषदका सल्लाहकार केदारनाथ खनाललगायतले संयूक्तरूपमा विमोचन गर्नुभएको थियो।

लकडाउन पूर्णरूपमा खुलेको त छैन, तर सकेसम्मको सामाजिक दुरी कायम गर्दै सम्पन्न कार्यक्रमको मञ्चको दृश्य भने रमाइलो देखिएको थियो। पुस्तकलाई खुला गर्ने कार्यक्रममा सबैले आ-आफ्नो मुख लुकाउनुपर्ने बाध्यता थियो। यस्तैखाले बाध्यताहरू लकडाउनको अवधिभर भोग्नुपरेको लेखक रिजालको भनाइ थियो। ‘वल्लो पल्लो कोठाका व्यक्तिहरूलाई भेट्न पनि डर लाग्थ्यो’, लेखकले आफ्नो मन्तव्यको क्रममा भनेका थिए।

पुस्तकको बारेमा बोल्ने जिम्मा पाएका रामेश्वर पुस्तकालयका अध्यक्ष एवं कवि, गजलकार बालकृष्ण थपलियाले लामो समीक्षा प्रस्तुत गरे। किताबका लगभग सबै खण्डबाट विशेष पंक्तिहरू उद्धरण गर्दै सुनाउन अघी बढेका उनले किताबमा लकडाउन अवधिका सबै खाले घटनाहरूलाई समेटिएको बताएका थिए। पत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडाले चाहिँ आफ्नो शंका निवारण भएकोमा खुशी व्यक्त गरे। उनको शंका रहेछ, ‘कतै पुस्तक आफू वा चितवन केन्द्रित मात्रै बन्ने त होइन?’ तर, पुस्तकले विश्वलाई समेट्न सकेकोमा उनले लेखकलाई धन्यवाद दिए। र, वर्तमानमा भन्दा पनि भविष्यको लागि उदाहरणीय दस्तावेज भन्ने दाबी प्रस्तुत गरे।

कवि, कथाकार एलबी क्षेत्री चाहिँ थोरै अगाडिसम्म बढे। ‘लकडाउन बाध्यात्मक थियो, तर यसले हामीलाई धेरै कुरा दियो’, उनको भने ‘यसबाट हामीले हाम्रो हैसियत बुझ्न पायौं।’ केही दिन अघी अर्थमन्त्रीले दिएको ‘धान्न नसकिनेु वाला वक्तव्यमाथि प्रहार गर्दै उनले थपे, ‘धान्न नसकिने यो संघीयता फालिदिउँ न त त्यसोभए’। हामी कहाँनेर रहेछौं, हाम्रो अर्थतन्त्र कति सबल रहेछ भन्ने कुरा यही लकडाउनले हामीलाई खुलस्त पारेको उनको भनाइ थियो। लकडाउनले देशलाई त धेरै घाटा भयो तर लेखकहरूको लागि भने फाइदा भएको पनि उनले बताए। लकडाउन अवधिलाई सदुपयोग गर्दै पूर्णतया लेख्नमा नै व्यस्त भएको र छिट्टै आफ्ना पनि केही कृति प्रकाशित हुने उनले घोषणा गरे। यसरी नै लेखक रिजालले पनि लकडाउनको समयलाई सदुपयोग गरेको प्रति धन्यवाद दिए। विगत केही समयदेखि आफूले पनि ‘डायरीको पानाबाट’ शीर्षकमा दैनिकी लेखिरहेकोमा रिजालकाे यो पुस्तक अध्ययनपछि डायरी कसरी लेख्न सकिन्छ भन्ने आफूले सिक्ने र अनुशरण गर्ने पनि उनले बताए।

‘लेख्नको लागि चाहिने विषयवस्तु पत्रकारसँग प्रसस्त हुन्छु,’ समीक्षक उदय अधिकारीले भने ‘त्यसैले संसारमा थुप्रै लेखकहरू पत्रकारिताबाट आएका छन्। विनोदबाबु रिजाल पनि यो पंक्तिमा उभिए र अरू लेखक पत्रकार जस्तै यिनी पनि स्थापित हुनेछन्।’ लकडाउनको दैनिकीलाई पुस्तकको रुपमा उतारेर भावी सन्ततीको लागि मुख्य दस्तावेज तयार गरेकोप्रति अग्रज कवि गजलकार तथा कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदीले लेखकको सह्राहना गरे। उनले ‘एकान्तवास’लाई रचनात्मक कृति भएको दाबी गरे।

‘एक दिन एउटा लेख पठाउनुभयो। स्टाटस त होइन, तर पत्रिकाको लागि सम्पादकीय लेख्नुभएछ कि भन्ने लागेको थियो,’ लेखक रिजालले पठाएको लेखको एउटा अंश स्मरण गर्दै पुस्तक प्रकाशक युरेका पब्लिकेशनका प्रबन्ध निर्देशक तथा कार्यक्रमका सभापति लेखराम सापकोटाले भने, ‘यो त उहाँको डायरी रहेछ। र मैले यसलाई त पुस्तकको रुप दिनुपर्छ भनेर उहाँलाई प्रस्ताव गरें।’

केही व्यक्तिगत कुरा, केही पारिवारिक कुरा, केही साथीसँगका कुरा र समग्रमा कोरोना भाइरस र लकडाउनले जोडेका देश विदेशका कैयन् कुराहरूले पारेका प्रभावलाई दस्तावेजिकरण गरेको बताएका लेखक, पत्रकार रिजालको पुस्तकमा चैत ११ देखि जेठ ३२ गतेसम्मको ७७ वटा दैनिकीलाई प्रस्तुत गरिएको छ। २६० पृष्ठको यस पुस्तकको मुल्य रु.३७५ राखिएको छ।


कार्यक्रम पश्चात् लेखक रिजाल खरीद गरिएका पुस्तकमा हस्ताक्षर गर्नमा ब्यस्त थिए। हेरौं केही तस्बिर:
































