काठमाडौं, साउन ३ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय कमिटी बैठक जारी रहेकै बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत बालुवाटार प्रवेश गरेका छन्।
शनिबार साँझ पौने ६ बजेतिर मुख्यमन्त्री पोखरेल बालुवाटार छिरेका थिए भने ६ बजेतिर स्वास्थ्यमन्त्री र महिलामन्त्री बालुवाटार प्रवेश गरेका हुन्।
जारी सचिवालय कमिटी बैठकमा पहिलो चरणमा सचिवालयका ९ जना नेताहरूबीच छलफल भएपछि ढकाल, गुरुङका साथै पोखरेल पनि पुगेका हुन्। तर उनीहरुलाई बालुवाटार बोलाइयो भन्ने खुल्न सकेको छैन। दिउँसो करिब सवा ३ बजेदेखि नेकपा सचिवालय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
शनिबारको सचिवालय कमिटी बैठकमा पार्टीमा लामो समयदेखि चल्दै आएको विवादका विषयमा छलफल हुने र यसले निकास दिने अपेक्षा गरिएको छ।


























