काठमाडौं, साउन २ । सूर्य नेपाल प्रालिले कोभिड-१९ विरुद्धको लडाइँमा सहयोग पुर्याउन ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
१ करोड रुपैयाँका दरले सातै प्रदेशलाई सहयोग गर्ने सूर्य नेपालले जनाएको हो। कम्पनीका भाइस प्रेसिडेन्ट रवि केसीले घोषणा गरिएको एक–एक करोड रुपैयाँ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरे।
कम्पनीको तनहुँ कारखानाका प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे। प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूलाई छिट्टै सहायता रकम हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीले उक्त रकम सातै प्रदेशले स्थापना गरेका कोरोना कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। आर्थिक सहयोगले कोरोनाविरुद्ध लड्न हरेक प्रदेशलाई प्रेरणा र ऊर्जा मिल्ने कम्पनीको विश्वास छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक प्रकोपलाई प्राथमिकतामा राखी बारा, पर्सा र तनहुँका नगरपालिका तथा विभिन्न वडामा सहयोग पनि प्रदान गरेको थियो।


























